‘समायोजनले पहाडका कतिपय गाउँपालिका नै स्वास्थ्यकर्मीविहीन बनेका छन्’

गत १५ असारबाट शुरु भएको स्वास्थ्यको समायोजन छ महिना नाघिसक्दा सम्म अझैँ टुंगिएको छैन । स्वास्थ्य मन्त्रालयमा गुनासो लिएर आउनेको संख्या रोकिएको छैन् । मन्त्रालयका अधिकारीहरुले पहिले केही हप्ता र पछि केही महिनामा समायोजन सकिने दावी गरेका थिए । तर अझैँ केही समय सकिने छाँटकाँट देखिदैन् । किन यति लम्बियो स्वास्थ्यको समायोजन ? मन्त्रालयका प्रवक्ता एवं गुनासो सम्वोधन गर्न गठित समितिका संयोजक महेन्द्रप्रसाद श्रेष्ठलाई हामीले प्रश्न गरेका छौँ ।  प्रस्तुत छ कुराकानीको सार संक्षेप :

महेन्द्रप्रसाद श्रेष्ठ

समायोजनको काम कहाँ पुगेको छ ?
समायोजन त लगभग सकिएको अवस्था छ । बरु अब गुनासो भनौँ, गुनासो सम्वोधन गर्ने काम भईरहेको छ ।

अझै पनि केही समूहको समायोजन सूची प्रकाशित गर्न नै बाँकी छ होइन र ?
होईन सबै समूहको समायोजन सूची प्रकाशित भईसकेको छ । तर ती सूचीहरुमा गुनासो आएका छन् । त्यसको सम्वोधन हुन बाँकी नै छ ।

गुनासो सम्वोधन गर्न कति बाँकी छ त ? कहाँ कहाँ बढी समस्या देखिएको छ ?
अब पाँच छ हजार संख्या बाँकी होला । बढी समस्या काठमाडौँ उपत्यका र तराईँका जिल्लाहरुमा छ । कर्णालीका केही जिल्लाहरु ।

गुनासोमा कस्ता खालका समस्या बढी छन् ?
दुईखाले समस्या छन् । एउटा जिल्लागत समस्या छ । मान्छेले जिल्ला तथा स्थानीय तह मागेका छन् तर दरबन्दी छैन । जस्तै काठमाडौँ उपत्यका, पोखरा तथा तराईँका केही जिल्लाहरु यसखाले समस्या देखिएका छन् । अर्को समस्या के भने प्रदेश र संघमा दरबन्दी खाली भयो तिनी कर्मचारीहरु स्थानीय तहमा गए । यसले गर्दा सेवा अवरुद्ध समेत भएको छ । जस्तो नर्सहरु स्थानीय तहमा जाँदा जिल्ला अस्पताल पूर्ण रुपमा खाली भएको अवस्था छ । एनआईसीयू, सीसीयू, जस्ता तालिम लिएका नर्सहरु अहिले गाँउपालिकामा फाइल बोकेर यता उता गर्ने काम भएको छ । संघमा केही विज्ञ मानिसहरुको अभाव भएको अवस्था छ । त्यसकारण हाम्रो माग अब के भने स्थानीय तहबाट पनि आवश्यकता अनुसार संघ र प्रदेशमा कर्मचारी ल्याएर तत्काल सेवा सञ्चालन गर्नुपर्छ भन्ने हो । यहि अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसंग कुरा भएको छ ।

केही साता अघिको मन्त्रिपरिषदबाट विज्ञताको आधारमा संघ र प्रदेशमा ल्याउन सकिने भनिएको छ त ?
तर त्यतिले मात्रै हुँदैन थप केही निर्णय हुनुपर्छ ।

समायोजनले पहाडका कतिपय जिल्लामा स्वास्थ्यकर्मी नै नभएको भन्ने छ नि ?
ठिक भन्नुभयो । समायोजन पछि पहाडका कतिपय जिल्लाका गाँउ पालिकामा एक जना पनि स्वास्थ्यकर्मी नभएको अर्थात सून्य भएको अवस्था छ । त्यसकारणले अव हामीले करार निर्देशिकाहरु जारी गर्नु पर्ने अवस्था समेत आईसकेको छ ।

दरबन्दी भन्दा बढी समायोजन भएर फिर्ता आउन थालेका पनि छन् नि होइन ?
संघीय मामिलाबाट समायोजन गर्दा दरबन्दी भन्दा बढी भएको अवस्था छ । अहिले ८१४ जना अहेव , ४१५ जना अनमी दरबन्दी भन्दा बढी समायोजन भएको अवस्था छ । स्थानीय तहले दरबन्दी बढीलाई तलव खुवाउन सक्दैनौँ भन्दै फिर्ता पठाईरहेको अवस्था छ । उनीहरुले थप बजेट समेत माग गरेका थिए । दरबन्दी भन्दा बढीलाई बजेट दिन सकिदैन । त्यसैले धमाधम फिर्ता पठाउन थालेका छन् । त्यसैले केही समस्या छन् । ती समस्याहरु अझ केही बर्ष कायम रहनेछन् ।
अर्को पुरानो समस्या । जस्तो कि पूर्वको मान्छेलाई पश्चिम, पश्चिमको मान्छेलाई पूर्व पठाएर भएको समस्या त यथावत नै छ ।

अव समायोजनको काम टुंगिन कति समय लाग्छ त ?
यो त ठ्याक्कै भन्न नसकिने कुरा हो । समय कति लाग्छ लाग्छ । तर सकेसम्म चाडैँ टुंग्याउने पहलमा हामी छौँ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *