सूर्तिजन्य पदार्थको प्रयोग र भयावह बनेको मुखको क्यान्सर


सरुवारोग, पोषणजन्य समस्याबाटै छुटकारा पाउन नसकेको नेपालको वर्तमान स्वास्थ्य क्षेत्र नसर्ने अर्थात जीवनशैली जन्य रोगहरु (मुटु रोग, मधुमेह, मानसिक रोग, क्यान्सर) का थप समस्याले ग्रसित हुँदैछ । अझ त्यसमा पनि क्यान्सर त हरेक घरमा जस्तो पाईने रोग बनेको छ ।

विश्वमा करिव ७० प्रतिशत क्यान्सर खानपिन, रहनसहन, वातावरण, जीवन शैली ईत्यादीको कारणले भने १० प्रतिशत शरीरको आन्तरिक कारणले हुने गर्दछ ।  यद्धपी यो धेरै पुरानो रोग हो । लाखौं वर्ष पुरानो र लोप भै सकेको डाईनोसरको अवशेष र ईजिप्टको पिरामिडमा राखिएका मम्मिहरुमा पनि क्यान्सर पत्ता लागेको ईतिहास छ ।

तर यहाँ आज मुखको क्यान्सरको बारेमा मात्रै चर्चा गर्न लागिएको छ ।

विश्वमा प्रमुख दशवटा क्यान्सरको नाम लिनुपर्दा मुखको क्यान्सर पनि पर्दछ । हाम्रो छिमेकी राष्ट्र भारतमा क्यान्सर रोगी मध्ये एक तिहाई मुखको क्यान्सरबाट ग्रसित भएको पाइएको छ । उता बेलायतमा हरेक वर्ष तीन हजार ५ सय पीडित हुन्छन् भने ५० प्रतिशत मर्दछन् ।
विकसित देशमा मुखको क्यान्सर घट्दो क्रममा छ भने हाम्रो जस्तो मुलुकमा बढ्दो क्रममा छ ।

नेपालमा बिश्व स्वास्थ्य संगठनले गरेको सर्वेक्षणमा पुरुषमा पहिलो र महिलामा तेस्रो पाठेघर र स्तन क्यान्सर पछी प्रमुख अर्वुदरोग मुखको क्यान्सर छ भने ग्लोबोकोआन ईन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सरले दक्षिण पूर्वी एसियाका मुलुकमा मुखको क्यान्सर बढि भएको देश श्रीलङ्का र वंगलादेश पछि नेपाल हो भनेको छ ।

नेपालमा आधिकारीक अध्ययन अनुसन्धान नभएता पनि मेरो २ दशकको चिकित्सकीय अनुभव र हजारौ निशुल्क स्वास्थ्य शिविरको अनुभव तथा विकसित मुलुकमा ५ प्रतिशत तथा भारतमा ३५ देखि ४० प्रतिशत देखिएकाले नेपालमा पनि त्यस्तै ३० प्रतिशतको हाराहारीसम्म मुखको क्यान्सर छ । अझ भयानक रुपमा क्यान्सर हुनुभन्दा पहिलेको अवस्था प्रिक्यान्सेरस लिजन र कन्डिसन पाइन्छ ।

एकातिर यस्तो भयावह स्थिति छ भने अर्कोतिर मुखको क्यान्सर बनाउन सक्ने प्रमुख कारक तत्वहरुको प्रयोगदर विगत एक दशकलाई हेर्ने हो भने हराज गुणाले बढेको पाइन्छ । राज्यले यसमा नियन्त्रण भन्दा पनि राजश्वमा मख्ख भएको अवस्था छ तर सले हामी सबै स्वास्थ्य प्रति सचेत नागरिकलाई थप चिन्तित बनाएको छ ।

के हो मुखको क्यान्सर ?
मुखको क्यान्सर भनेको मुखका अंग तन्तुहरुको कोषको अस्वाभाविक अनियन्त्रित र असामान्य किसिमको बृद्धि नै हो । कारण हटाउदा पनि कुनै कोषको आकार प्रकारमा बृद्धि भइरह्यो र घाउ खटिराहरु २-३ हप्तासम्म पनि निको नभएमा मुखको क्यान्सर हो की भनि शंकाको घेरामा राखेर तुरुन्त विशेषज्ञ सेवा लिनुपर्दछ ।

यो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने सरुवा रोग होइन । तर एउटै ब्यक्तिमा एक ठाँउबाट अर्को ठाँउमा, एक अंगबाट अर्को अंगमा भने सर्न सक्दछ ।

सारकोमा प्रमुख रुपमा बच्चाहरुको बंगराको हड्डीमा देखिन्छ भने कारसीनोमा मुखको इपिथिलियलबाट बन्ने मुखको क्यान्सर हो जुन ९० प्रतिशत जति हुन्छ ।

कारणहरु :
मुखको क्यान्सर बनाउन सक्ने सम्भाव्य कारणहरु तथा खतरा तत्वहरु लामो समयदेखि पत्ता लागिसकेका छन् । एउटा सामान्य मानिस र यी सम्भाव्य कारणहरु लामो समय सम्म र अत्याधिक मात्रामा भएका व्यक्तिको तुलना गर्दा, संभाव्य कारण भएकोमा मुखको क्यान्सर हुने सम्भावना ९० प्रतिशत बढी हुन्छ ।

खास कारण सूर्तिजन्य पदार्थको प्रयोग :
मुखको क्यान्सर भएका विरामीमा ९० प्रतिशत भन्दा बढी विरामीले सुर्तीजन्य पदार्थको सेवन गरिएको देखिन्छ । यस्ता वस्तुको सेवन बन्द गर्नाले मुखको क्यान्सर हुने संभावना घट्छ ।

सुर्ती निकोटियना रस्टिका र टोबाकमको पात सिधै वा प्रशोधित गरी विभिन्न रुपमा सेवन गर्ने गरिन्छ । मुखको स्वास्थ्य र क्यान्सरको लागि जुनसुकै खालका सूर्तिजन्य पदार्थ हानिकारक मानिन्छ । तर तुलनात्मक रुपमा धुँवाको रुपमा प्रयोग गरीने सुर्तीभन्दा धुवाँरहित रुपको सुर्ती चाहे त्यो चपायर खाने सुर्ती होस् वा मुखमा राखी रस लिने वा मञ्जनको रुपमा प्रयोग गरीने सुर्ती होस् त्यो बढी हानीकारक देखिन्छ ।

सुर्तीको अर्वुदरोग बनाउन सक्ने भूमिका÷क्षमता, सुर्तिको किसिम, प्रकार, सेवनको तरीका र यससंग प्रयोग गरिने अन्य तत्वहरुले निश्चित गर्दछ जस्तै चुरोट बिडी खानेमा क्यान्सर २० वर्षमा देखिने गर्दछ भने धुवाँरहितमा ५–१० वर्षमा, त्यसै गरि सुर्ति र पान दुबै खानेमा मुखको क्यान्सर २० देखि ३० गुना बढि देखिन्छ । तर खैनी खानेमा ३ महिनामै पनि देखिएको छ ।

सिगार, बिडी, चुरोट, हुक्का, हुक्ली, खैनी, जर्दा, मिश्री, मावा, स्नफ, चिलम, तमाखु, ककड, चुट्टा, गुडाखु, सुर्ती, गुट्खा, पान, घुम्टी, नास, निस्वार, बजार, मसेरी, गुल ईत्यादी सबै नाम बिभिन्न भएपनि सुर्तिजन्य पदार्थ नै हुन् र सुर्ति सेवनका बिभिन्न रुप हुन् ।

श्रीमानले नदेखोस, दुध खुवाईरहेको वेला वच्चालाई खरानी नपरोस, हावाले ननिभाओस र अन्यले धुम्रपान गरेको थाहा नपाओस भन्ने अभिप्रायले पहाड एवं तराईका थुप्रै महिलाहरुले उल्टो मुखी बलेको भाग मुख भित्र बिडी वा चुरोट खाएको देखिन्छ, जसमा क्यान्सरको सम्भावना बढि देखिन्छ ।

शहर बजारका कतिपय महिलाहरु धुवारहित सुर्तिको सेवन गरेको समेत भेटिएको छ । विश्व स्वास्थ्य संगठनको रिपोर्टका अनुसार बिश्वमै सर्वाधिक धुम्रपान गर्ने महिला नेपालकै हुन् ।

बिश्व स्वास्थ्य संगठनका अनुसार सुर्तीमा ४००० किसिमका रसायन र ४५ वटा क्यान्सर बनाउन सक्ने तत्वहरु हुन्छन् ।

धुम्रपानबाट ३५ किसिमका बिभिन्न रोगहरु प्रत्यक्ष रुपले र करिव आधा क्यान्सर नै लाग्ने गर्दछ भने शरिरको टाउकोको रौं देखि लिएर खुट्टाको पाईंताला सम्मका सबै कोष, अंग र तन्तुलाई नोक्सान सिवायक केहि पु¥याउदैंन ।

# बरिष्ठ कन्सलटेन्ट डेण्टल सर्जन समेत रहेका डा बुढाथोकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उपचारात्मक सेवा महाशाखा इएनटी महाशाखा प्रमुख हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “सूर्तिजन्य पदार्थको प्रयोग र भयावह बनेको मुखको क्यान्सर

Leave a Reply

Your email address will not be published. Required fields are marked *