‘नेपालीले क्यान्सर रोगविरुद्धको औषधि ४० प्रतिशत सस्तो पाउँनेछन्’

विजयप्रकाश कातिकाला क्यान्सररोग बिरुद्धको औषधि उत्पादन गर्ने भारतीय कम्पनी एसपी एक्युर ल्याव्स (एसपीएएल) प्रालिका म्यानेजिङ डाइरेक्टर हुन् । हैदरबादमा रहेको उनको कम्पनीले ठूलो परिमाणमा क्यान्सर रोग विरुद्धका औषधि उत्पादन गर्दै आइरहेको छ । पछिल्लो समय सोही कम्पनीको सहयोगमा नेपालमा पनि क्यान्सर रोग विरुद्धको औषधि उत्पादन शुरु गर्ने तयारी भएको चर्चा चलेको छ । वास्तविकता के हो ?   नेपाली हेल्थका रामप्रसाद न्यौपानेले विजयप्रकाशसंग यहि विषयमा केन्द्रीत रहेर कुराकानी गरेका थिए :

तपाईँहरुको सहयोगमा नेपालमा पनि क्यान्सरको उत्पादन गर्ने फर्मास्यिुटिकल्स कम्पनी खुल्दैछ भनिएको छ ? खास कुरा के हो ?
तपाँईले जे सुन्नु भयो त्यो साँचो कुरा हो । नेपालमा भर्खरै स्थापना भएको टिजिग फर्मा प्राईभेट लिमिटेडसंग सहकार्य गरी हामीले क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने योजना अघि बढाएका छौँ ।

कस्ता प्रकारका औषधि उत्पादन गर्ने योजनामा हुनुहुन्छ ?
औषधि त सबै क्यान्सर रोग विरुद्धको नै हो । त्यसमा ट्यावलेट, क्याप्सुल र इन्जेक्सनको रुपमा क्यान्सर रोग विरुद्धका औषधि बजारमा आउनेछन् । वा, भनौ उत्पादन गर्नेछौँ ।

यी औषधिहरु सबै प्रकारका क्यान्सर रोगमा प्रयोग हुने हुन् कि कुनै खास प्रकारमा ?
हामीले उत्पादन गर्ने औषधि सबै प्रकारका क्यान्सरमा प्रयोग हुने खालका नै हुन्छन् । यसमा बढी जसो देखिने जस्तै स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, फोक्सो क्यान्सर, प्याक्रियाज क्यान्सर, बोनम्यारो क्यान्सरका औषधि बढी हुन्छन् ।

क्यान्सर रोग आफैमा जटिल पनि मानिन्छ, त्यसमाथि क्यान्सर रोगमा प्रयोग हुने औषधि भनेपछि अझ गुणस्तरको पनि कुरा उठ्ला, त्यहि खालको प्रविधि र प्राविधिक पनि त चाहिएला नि ? नेपालमा यो सम्भव छ ?
एकदमै महत्वपूर्ण प्रश्न गर्नु भयो । क्यान्सरको मात्रै होइन हरेक औषधिको गुणस्तर सुनिश्चतता हुनुपर्छ । नेपालमा अहिले पनि क्यान्सर बाहेकका औषधिहरु उत्पादन भईरहेका छन् । खैर यता म जान चाहन्न । क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने योजना बनाएको टिजिग फर्माबाट औषधि उत्पादन हुन्छ । त्यसका लागि चाहिने  प्रविधि हामीले हस्तान्तरण गर्ने छौँ ।

एसपी एक्युर ल्याव प्रालिको प्राविधिक सहयोगमा टिजिग फर्माबाट एन्टी क्यान्सर सम्वन्धी औषधि उत्पादन हुँदैछ । त्यसैले पनि औषधि उत्पादनमा समस्या हुँदैन ।

टिजिगबाट बार्षिक कति परिमाणमा औषधि उत्पादन गर्ने लक्ष्य राखेको छ ?
पहिलो चरणमा हामीले खाने औषधिहरु ट्यावलेट र क्याप्सुल निकाल्ने योजना छ । लगभग ४० प्रकारका ट्यावलेट तथा २० प्रकारका क्याप्सुल उत्पाद गर्ने योजना छ । बार्षिक १ करोड ट्यावलेट, ५० लाख इन्जेक्सन उत्पादन गर्ने लक्ष्य छ ।

यी सबै औषधि खपत हुन्छ नेपालमा ? 
तथ्यांकले भन्छ, ‘हुँदैन ।’ हामीले गरेको अध्ययनले ४० प्रतिशत औषधि त्यहाँ खपत हुन्छ । ६० प्रतिशत हामीले बाहिर निर्यात गर्ने योजना बनाएका छौँ ।

नेपालमै क्यान्सरको औषधि उत्पादन भएपछि मूल्यमा पनि सस्तो पर्छ कि ?
मलाई लाग्छ टिजिग फर्माले उत्पादन गर्ने औषधिको मूल्य अहिलेको तुलनामा ४० प्रतिशत कम हुन्छ । अर्थात नेपालमा क्यान्सरका औषधि अहिले जुन मूल्य तिरेर खाईरहेका छन, त्यहाँ उत्पादन भएपछि यहि औषधि ४० प्रतिशत सस्तो हुन्छ । अर्थात अहिले एक सय रुपैयाँमा औषधि खरीद गरिरहेका छन् भने अव ६० रुपैयाँ तिरे पुग्नेछ । इन्जेक्सनमा पनि त्यहि त्यति नै सहुलियत हुनसक्छ ।

अर्को कुरा यो त स्थानीय तहमै आउने भयो । अहिले सप्लाईमा कहिलेकाही समस्या हुँदा औषधि समयमै नपाइने हो कि भन्ने पनि डर छ । तर नेपालमै औषधि बनेपछि विरामीका लागि समेत ढुक्क भयो ।

टिजिगबाट उत्पादित औषधि कहिले देखि विरामीले खान पाउँछन् ?
हाम्रो लक्ष्य अबको एक बर्ष भित्र औषधि उत्पादन गरी बजार पठाउने हो ।

टिजिगबाट उत्पादित औषधि विदेश निर्यात गर्ने कुरा पनि रहेछ, कुन कुन देशमा पठाउने योजना छ ?
एसपीएएल ल्यावले अहिले इरान इराक, म्यानमार, कोलम्बिया, युक्रेन, इथोपिया, साउदी अरेविया, अब छिटै बेलायत र दक्षिण कोरिया पनि लैजादैछौँ । टिजिगले पनि यिनै देशमा निर्यात गर्न सजिलो होला ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *