चिकित्सा शिक्षा आयोग मेरो ‘फिलोसोफी’ मै परेन, त्यसैले उपाध्यक्षमा गईन

धेरैको अनुमान थियो नेपाल मेडिकल काउन्सिललाई नयाँ उचाईमा  पुर्‍याउने  तत्कालिन अध्यक्ष प्राडा धर्मकान्त बास्कोटा चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्ने छन् । तर उनी त्यता देखिएनन् । बरु पछिल्लो समयमा उनले त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुने वा काउन्सिलकै अध्यक्ष दोह¥याउने चाहेको भन्ने हल्ला चलेको छ । आखिर के हो त बास्तविकता रामप्रसाद न्यौपानेले उनै प्राडा बास्कोटासंग यसै सन्दर्भमा छोटो कुराकानी गरेका छन्  :

मेडिकल काउन्सिलको अध्यक्षबाट विदा हुनु भएको छ,  आफ्नो कार्यकालको मुल्यांकन कसरी गर्नुहुन्छ ?
पहिलो कुरा आफ्नो कार्यकालको मूल्याकंन आफैले गर्नु युक्तिसंगत देखिदैन । तर गर्नै पर्ने हो भने मलाई लाग्छ यो कार्यकाल सुखद रह्यो भन्छु म । मेरो कार्यकालमा मेडिकल क्षेत्रका लागि केही काम भए जस्तो लाग्छ । हामीले मेडिकल शिक्षामा देखिएका वेथिति र विशंगतिलाई रोक्न सफल भयौँ । एउटा नयाँ सिस्टमको विकास गर्यौँ । यसैले त अहिले काउन्सिललाई हेर्ने दृष्टिकोण नै बदलिएको छ । काउन्सिलको छवी पनि पहिलेको भन्दा उच्च भएको छ जस्तो लाग्छ । तर अझै केही गर्न बाँकी छ ।

तपाईँ त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)को डीनबाट तीन दिनमा निस्किएको व्यक्ति काउन्सिलमा कसरी यस्तो सुधार गर्न सक्नु भयो ?

आइओएमको डीनबाट निस्किएको भन्दा पनि त्यसबेला परिस्थिति त्यस्तै पारियो । विवादित बनाइयो । त्यसबेला सो कार्यको नेतृत्व जसले गरे अहिले उनले गल्ती भएछ भनेका छन् । अर्कोकुरा सुधारको जो कुरा गर्नु भएको छ म च्यालेन्ज स्विकार्ने मान्छे हुँ । म काउन्सिलको नेतृत्वमा आउँदा मेडिकल क्षेत्र एकदमै असहज अवस्थामा थियो । डा गोविन्द केसीको अनसन, आन्दोलन, यता लोकमान सिंहको विगविगी, अस्थिर सरकार, काउन्सिलको अलि धुमिलिएको जस्तो छवी । यी कुराहरुका बीच नेतृत्व लिएर काम गर्नु निकै चुनौती थियो । तर मैले चुनौती स्विकारेँ । मेरो चार बर्षे कार्यकालमा विभागीय मन्त्री ५ जना फेरिए तर पनि काउन्सिलको काममा त्यसको प्रभाव पर्न दिइएन । कुनै पनि राजनीतिक नेतृत्वको दवाव स्वीकारेर काम गरिएन । मेरो नेतृत्वको टिम एकदमै राम्रो र बलियो थियो । त्यसैले पनि हामीले राम्रो रिजल्ट दिन सक्यौँ जस्तो लाग्छ ।

धेरैको अनुमान थियो तपाईँ चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बन्नु हुन्छ भन्ने किन तर त्यसतर्फ जानु भएन ?
चिकित्सा शिक्षा आयोग मेरो फिलोसोफी मै परेन, त्यसैले उपाध्यक्षमा गईन । आयोग माथेमा कार्यदलको प्रतिवेदनको आधारमा आएको चिज हो । त्यसैले माथेमा आयोगमा जो जो मान्छे थिए उनीहरु अहिले पनि छन् । उनीहरुले नै यसलाई सम्हाल्दा राम्रो हुन्छ भन्ने मलाई लाग्यो । र म त्यसतर्फ चासो राखिन ।

तपाईँलाई आयोगको उपाध्यक्षका बन्न स्वयं केदारभक्त माथेमाले नै आग्रह गर्नु भएको भन्ने सुनिएको थियो नि ?
हो , मलाई माथेमा सरले बोलाएर अनुरोध गर्नु भएको हो । माथेमा मात्रै होइन डा गोविन्द केसी, भगवान कोइराला, अर्जुन कार्की सहित चार जनाले सामुहिक रुपमा नै आग्रह गरेको हो । तर मैले आयोगमा जान इच्छा गरिन । डा केसीलाई त मैले त्यसबेला आईओएम डीनबाट तीन दिनमा हटाउन भुमिका खेलेको क्षण समेत सम्झाईदिएको थिएँ ।

हो र ! कसरी सम्झाउनु भयो ?
उस बेला तीन दिन डीन हुँदा अयोग्य ठान्ने मान्छेले विश्वविद्यालयका उपकुलपतिलाई निर्देशन दिने ठाँउ आयोगमा कसरी योग्य देख्यौ भनेर प्रश्न समेत गरेँ । जवाफमा उनले त्यसबेला डिन प्रकरणमा गल्ती भएको भन्दै पछि मैले तिमीलाई सपोर्ट गरेको छु नि भने ।

त्यसपछि तपाईँ के भन्नुभयो ?
त्यसपछि ठीकै छ विगतका कुरा गए । अब म आयोगमा किन जान्न भने यो आयोगको फिलोसोफी जे हो त्यो बुझ्ने मान्छे त माथेमा कार्यदलका पदाधिकारी नै हुन नि । यो अवधारणा विकास गर्ने मान्छेबाटै नेतृत्व गर्दा ठिक हुन्छ भनिदिएँ ।

तपाईँलाई आयोग चित्त नबुझेको किन ?
चित्त नबुझेको भन्दा पनि यति धेरै निकायहरु छन् । ति सबैलाई निकम्बा बनाउने गरी आयोग स्थापना गरिएको छ । अब जसले ल्याएको हो त्यो गएर काम गरेर देखाउन परयो नि । नत्र यिनीहरु लोकप्रियताको लागि आयोग ल्याएका रहेछन भनेर प्रश्न किन नगर्ने ?

अहिलेको आयोगको उपाध्यक्षका लागि जो उम्मेद्धार आएका छन् तिनीहरुले आयोग चलाउन सक्छन् ?
यो त मैले भन्ने विषय होइन । यो त सर्च कमिटि र सरकारले बोल्ने कुरा हो । तर मलाई लाग्छ आयोगको नेतृत्व गर्छु भनेर आएका अहिले देखिएका अनुहारले पनि आयोगको फिलोसोफी बुझेको छैन ।

त्यसो भए त यो आयोग अलिक घाँडो जस्तो पो हुने भयो, होइन ?
घाँडो जस्तो होइन मेरो बिचारमा घाँडो नै भइसक्यो । बनाउनै त्यो घाँडो बनाइदिए । भएका यत्तिका विश्वविद्यालयलाई काउन्सिललाई उत्तरदायि बनाउन छाडेर अर्को निकाय खडा गर्न खोजेपछि घाँडो त भइहाल्छ त । मैले त यसअघि नै थुप्रै सार्वजनिक कार्यक्रममा यो भन्दै आएको छु । सांसदहरुलाई भनेको छु । कतिपय सांसदले यो कुरा उठाउनु पनि भएको छ शिक्षा तथा स्वास्थ्य संमितिमा । तपाई आफै भन्नु न यो आयोगले काम गर्न सकेन भने अब फेरी तेस्रो आयोग बनाउने ? त्यसैले औचित्य माथि नै प्रश्न छ क्या । किनभने सुरु देखि विश्वविद्यालयले विरोध गरेको छ । प्रतिष्ठानहरुले पनि विरोध गरेको छ । तर ल्याइयो । कतिपयले डा केसीका कारण नै नचाहिने खालको आयोग स्थापित भयो भन्ने गर्छन । तर म भन्छु उनले पनि गुणस्तीय शिक्षाकै लागि दवाव सिर्जना गरेको हो । नराम्रो होस् भनेर त उनले पनि चाहेको थिएनन् होला । पक्कै पनि स्वास्थ्य शिक्षा र सेवा राम्रो होस भन्ने नै उनको ध्यय थियो । तर नीति बनाउने निर्माताहरुले आयोगको परिकल्पना गरिदिए । यो हिसावले त उहाँहरुले नै गएर काम गर्नुपर्दथ्यो ।

आफैले आयोग बनाउने र आफै त्यो पदको नेतृत्वमा जाँदा आफ्ना लागि आयोग बनाएको रहेछ भन्ने आरोप पनि त खेप्नुपर्छ नि त्यो समितिका मान्छेले होइन ?
त्यसो होइन । आयोगको अवधारणा पत्रमा नै के छ भने माथेमा आयोगको प्रतिवेदनले भने बमोजिमकको भन्ने छ । यसले आयोग बनाएर काम देखाउनका लागि त आफै नै बस्नु परयो नि पहिले । म त निजी मेडिकल कलेजसंग बसेर बर्षको एक पटक अन्तरक्रिया पनि गरेको छु । समस्या बुझेको छु । त्यतिका लगानी गरेका छन् । हेल्प पनि गर्नु परयो नि तिनिहरुलाई । बेइमानी गर्न पो दिनु भएन । त्यसैले चिकित्सा शिक्षा सुधारका लागि जे अवधारणा अघि सारेर आयोगको परिकल्पना जो गरिएको छ । सो गर्ने व्यक्तिहरु मध्येबाट नेतृत्व गर्दा राम्रो हुन्छ भन्ने मेरो धारणा हो ।

तपाईँलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति वा मेडिकल काउन्सिलको अध्यक्ष बनाउने भन्ने हल्ला पनि चलेको छ नि बजारमा ?
हल्ला त चलेका होलान तर अहिलेसम्म मलाई कसैले सिफारिसका लागि भन्दै सोधेको छैन । मेरो बानी ए हजुर मलाई दिनु परयो भन्ने खालको छैन । कहि निवेदन हाल्न पनि जान्न । तर यो छ यो जिम्मेवारी सम्हाल्नु परयो भन्ने कुरा आयो भयो भने पछि हट्ने कुरा छैन । बरु त्यसमा मेरा केही सर्त हुन सक्लान । किनभने म कुनै पनि राजनीतिक दलले दिने दवाव सहन्न । म काम गर्दा सम्झौँता गर्दिन । काउन्सिलमा हुँदा मैले त्यो प्रमाणित पनि गरेँ जस्तो लाग्छ । अब सरकारले विश्वविद्यालयको उपकुलपति बन्नु परयो भन्यो भने सक्दिन होला भनेर म भन्दिन ।

हल्ला त तपाईँको काउन्सिल अध्यक्ष दोहो¥याउन खोजेको भन्ने पनि छ, तपाईँको पहिलो रोजाई काउन्सिल कि विश्वविद्यालय ?
मैले अघि नै भने नि आयोग मेरो फेलोसोफी भित्र परेन त्यसैले आयोगको उपाध्यक्ष पदमा मैले अस्विकार गरेँ । अरु तपाईँले भनेका दुईवटा निकायमा अहिलेसम्म मैले कुरा गर्न गएको छैन । कोही आएर बसि दिनु परयो भनेर पनि भनेको छैन । तर गर्नु परयो भनेर अफर आयो भने पछि हटदिन । मैले जिम्मेवारी लिएपछि त्यो इमान्दारिताका साथ निभाउनु पर्छ भन्ने लाग्छ ।

आयोग र काउन्सिलबीच अधिकार क्षेत्रका बारेमा बेला बेलामा कुराहरु उठने गरेको छ , के आयोग आएपछि काउन्सिल औचित्य सकिए जस्तो हो ?
काउन्सिलको कार्यक्षेत्र भनेको स्वास्थ्य संस्था नियमन गर्ने हो । स्वास्थ्य शिक्षाको नियमन गर्ने हो । आयोगले दुईवटा कुरा लगेको छ । एउटा मेकिडल कलेजको सिट निर्धारण गर्ने मापदण्ड बनाउने कुरा यो अब आयोगले बनाउँछ । अहिलेसम्म मेडिकल कलेजको सिट विश्वविद्यालयले नै तोक्दथ्यो । तर, विश्वविद्यालय तोकेको कुरा ठिक छ कि छैन भनेर नियमन गर्ने काम काउन्सिलले गर्दथ्यो । यी दुईवटा सिटसंख्या तोक्ने र मापदण्ड बनाउने काम आयोगमा गएको छ । तर काउन्सिलका कामहरु थुप्रै छ । चिकित्सकलाई लाइसेन्स दिने देखि आचार संहिता बनाउने सम्म अस्पतालको नियमन गर्ने लगायतका त्यो सबै छायाँमा परेको थियो । अब त्यो कामहरु गर्न सहज हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “चिकित्सा शिक्षा आयोग मेरो ‘फिलोसोफी’ मै परेन, त्यसैले उपाध्यक्षमा गईन

  1. डॉ साहेब तपाई को phylosophy के नी?कृपया स्पस्ट गरीदिनु हुन्छ की?जनता जनार्दन बुझ्न चाहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *