‘बीएण्डसी मेडिकल कलेजमा १ मंसिरबाट एमबीबीएस कक्षा सञ्चालन हुनेछ’

चिकित्सा शिक्षाको कुरा गर्दा पछिल्लो केही बर्ष देखि झापामा रहेको बी एण्ड सी मेडिकल कलेज नछुट्ने नाम हो । डा गोविन्द केसीको अनसन र बी एण्ड सीको सम्वन्धनको विषयले गतवर्ष निकै तरंग ल्यायो । यद्धपी मेडिकल कलेजले सम्वन्धन पाउन भने सकेको छैन । बी एण्ड सीमा १० दिन अघि कलेजको प्रिन्सिपलको रुपमा प्राडा रामप्रसाद उप्रेतीले नियुक्ती लिए । उनी आवद्ध हुनासाथ कलेजको अल्पकालिन र दीर्घकालिन योजना सार्वजनिक हुन थालेको छ । खास योजना के के छन् ? नेपालीहेल्थका रामप्रसाद न्यौपानेले प्राडा उप्रेतीसंग गरेको छोटो कुराकानी :

त्रिवि शिक्षण अस्पताल छाडेर बीएण्डसी मेडिकल कलेजमा आवद्ध हुनु भएछ ? किन ?

हो, मैले गत ३ साउनमा त्रिवि आइओएमबाट राजिनामा दिएर गत ७ साउन देखि बी एण्ड सी मेडिकल कलेजमा प्रिन्सिपलको रुपमा जिम्मेवारी सम्हालेको छु । मैले अध्ययन् अध्यापनमा त्रिवि आइओएममा झण्डै ४४ वर्ष विताएँ । त्यसैले छाडेर जाँदै गर्दा त्रिवि शिक्षण अस्पतालमा एक लाख रुपैयाँको अक्षयकोष समेत खडा गरेको छु । अबको सेवा मैले बी एण्ड सी मेडिकल कलेजबाट शुरु गर्दैछु ।

बी एण्ड सीमा आवद्ध भइसकेपछि तपाईँको प्राथमिकता के के छन् ?
अहिलेको प्राथमिकता बी एण्ड सी मेडिकल कलेजमा रिक्त फ्याकल्टीको पदपूर्ति गर्ने र एमबीबीएसको पढाईका लागि तयारी गर्नेमा छ ।

एमबीबीएसको पढाई कहिले देखि शुरु गर्ने योजना छ ?
बी एण्ड सीमा आउँदो मंसिर १ गते देखि एमबीबीएस पढाई हुन्छ ।

दिन नै तोकेर भन्नुभयो त्यो भन्दा अगाडी सम्वन्धन अनि सिटका कुरा पनि हुन्छन् होला नि होइन र ?
हो । यसपटक सम्वन्धन पनि पाउँछ । सिट पनि निर्धारण हुन्छ । हामीले त्रिविबाटै सम्वन्धन पाउँछौँ र १ मंसिरबाट ‘फूल फ्लेज’मा एमबीबीएस कक्षा सञ्चालन गर्नेछौँ ।

फ्याक्लटीहरु पुरा भइसक्यो ?
फ्याकल्टीहरु पुरा भइसकेको छैन । हामीले अब फ्याकल्टी पुरा गर्ने योजनामा छौँ । त्यसका लागि अब छिटै विज्ञापन हुँदैछ ।

त्यसपछिको योजना ?
अलि पछि गएपछि नर्सिङ, वी फार्मेसी, वीएमएलटी लगायत १० वटा कार्यक्रम पनि ल्याउँछौँ । मास्टर्स डिग्री पनि गर्ने र इन्टरनेशनल कोल्याव्रोसन पनि गर्ने योजना छ । वीएनसीलाई नम्बर वान नेपालको मेडिकल कलेज र एसियाको चर्चित मेडिकल कलेज बनाउने संकल्प छ ।

यी सबै त पछिका कुरा भए तर एमबीबीएस सञ्चालनका लागि सम्वन्धनको विषयमा त अझै पनि लफडा नै छ नि होईन ?
अहिले केही लफडा छैन । बीएण्ड सीको सम्वन्धनका लागि स्पेशल कानून नै पास भयो । अब सोही कानून अनुसार सम्बन्धन पाउँछ र कक्षा सञ्चालन हुन्छ ।

त्यो भनेको कस्तो कानून ?
चिकित्सा शिक्षा ऐनमा भ्यालि बाहिरको हकमा भनेर स्पेशल रुपमा नै तोकिएको छ । बी एण्ड सीको पूर्वाधार तयार भएको चार बर्ष भइसक्यो । यतिका अवधीमा सम्वन्धन नपाएको अवस्था छ । साँच्चिकै भन्ने हो भने त सरकारले यो चार बर्षको क्षतिपूर्ति नै दिनु पर्ने हो । यो अवधीमा सञ्चालकलाई कति लाग्यो घाटा भयो होला ? सबै काम सम्पन्न भएपछि अनाहकमा सम्वन्धन रोकियो ।

अहिले त्यहाँ विरामी आउने दर कस्तो छ ?
विरामी आउने दर अहिले चाही अलिकति कम छ । विभिन्न कारणले । तर हामीले छिटै नै २ हजारसम्म पुरयाउने लक्ष्य लिएका छौँ । हामीले स्वास्थ्य बीमा लगायत सरकारी कार्यक्रमहरु शुरु गर्दैछौँ । यसले विरामीको आउने दर बढछ ।

एमबीबीएसमा कति सिट पाउने अपेक्षा छ ?
यसपटक १०० सिट पाउछौँ भन्ने हो । किनभने हामीसंग ९०० बेडको अस्पताल छ । ७०० बेड भएपनि हुन्थ्यो तर हामीसंग ९०० बेड छ ।

भनेपछि यो पटक काउन्सिलले सिट दिने भन्नेमा ढुक्क हुनुहुन्छ ?
काउन्सिलले यसअघि नै ओके गरिसकेको छ ।

रोकिएको कारण चाहि के हो त ? डाक्टर गोविन्द केसीको कारणले हो ?
विभिन्न कारणहरु छन् । मल्टीफ्याक्टरहरु भनौँ न । अहिलेसम्म रोकिए पनि अब रोकिदैन । अब फेरी सिट दिने काउन्सिल होइन चिकित्सा शिक्षा आयोग हो । आयोगबाट पहिलो पटक हामीले सिट पाउँदैछौँ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *