क्यान्सर निको भएका ५० बालबालिका ‘र्‍याम्प’मा उत्रिदै

काठमाडौँ, १६ साउन ।  क्यान्सर रोग लागेर निको भएका ५० बढी बालबालिकाहरु र्‍याम्पमा  उत्रिने भएका छन् । क्यान्सर रोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले नेपाल क्यान्सर हस्पिटल तथा नेपाल क्यान्सर सहयोग समूहले आगामी शनिबार गर्न लागेको कार्यक्रममा उनीहरु र्‍याम्पमा उत्रिने भएका हुन् ।

‘सुदिप्त सुपर किड्स क्यान्सर सभाईभर र्‍याम्प वाक’ नाम दिइएको उक्त कार्यक्रम सानेपालस्थित हेरिटेज गार्डेनमा हुनेछ । उक्त कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थिति रहने बताइएको छ ।

कार्यक्रम संयोजक स्वरुपा श्रेष्ठले शनिबारको र्‍याम्पमा सहभागी बालबालिकाहरुले विभिन्न जनचेतनामुलक कार्यक्रमका साथ आफ्ना प्रस्तुति दिने बताइन् । त्यसबाहेक कार्यक्रममा महजोडी, भारतीय रियालिटी सो सारेगमप लिटिल च्याम्समा तहल्का मच्चाएका नेपाली बाल गायक आयुष केसीको समेत प्रस्तुति रहने उनले जानकारी दिइन ।

‘हाम्रो उद्धेश्य उपचारमा हरेका बालबालिकालाई हौसला होस भन्ने नै हो । क्यान्सर निको हुने रोग हो । भन्ने सन्देश पनि जानेछ भन्ने हाम्रो अपेक्षा हो,’ संयोजक श्रेष्ठले भनिन् । आयोजकले सो कार्यक्रममा ५ सय बढी दर्शकको सहभागिता हुने अनुमान गरेको छ ।

कार्यक्रमबाट उठने रकम क्यान्सर बिरामी बालबालिकाको उपचार र कल्याणकारी कार्यमा खर्च गर्ने आयोजकले बताएको छ ।

विश्व स्वस्थ्य संगठनका अनुसार विश्वमा १ करोड ९० लाख जति क्यान्सरका बिरामी छन् । ९० लाख जतिको प्रत्येक वर्ष क्यान्सरका कारण मृत्यु हुने गर्दछ । १ करोड ९० लाख मध्ये १० लाख जति बालबालिकालाई क्यान्सर हुने अनुमान गरिएको छ ।

प्रत्येक वर्ष ४ लाख नयाँ क्यान्सरका बिरामी थपिने गर्छन् । अमेरिका, वेलायत, अस्ट्रेलिया, जापान जस्ता विकसित देशमा ८० प्रतिशत बाल क्यान्सर रोग निको पार्न सकिने उपचार पद्धतिको विकास भइसकेको छ ।

नेपाल जस्तो विकास उन्मुख देशहरुमा क्यान्सर रोगको उपचार, सहज रुपमा उपलब्ध नभएको, जनचेतनाको कमी, विकट भौगालिकता , गरिबी र समयमा उपचारका लागि क्यान्सर सम्बन्धि स्वास्थ्य परीक्षणका लागि अस्पताल पु¥याउन सकिने स्थिति छैन ।

नेपाल क्यान्सर हस्पिटलका अध्यक्ष एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदिप श्रेष्ठ भन्छन्, ‘समयमा रोगको पहिचान नहुनाले हाम्रो जस्तो अल्प विकसित र अविकसित मुलुकहरुमा ४० प्रतिशत मात्र बाल क्यान्सर रोग निको पार्न सकिएको छ । जो हाम्रा लागि दुखद पक्ष हो ।’

उनले र्‍याम्प सो गर्नुको कारण क्यान्सर रोगको पहिचान भई सहि उपचार हुन सकेमा सहज रुपमा यो निको हुन्छ भन्ने मुख्य उदेश्य रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *