मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरीका बिरामीको ५ हजार भत्ता कता गयो ?

फाइल तस्विर : स्पाइनल इन्जुरीका विरामीलाई राष्ट्रिय ट्रमा सेन्टरमा गएर ५ हजार भत्ता दिदै तत्कालिन प्रधानमन्त्री देउवा

काठमाडौँ, ८ चैत । अघिल्लो सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले गत माघ ११ गते राष्ट्रिय ट्रमा सेन्टर पुगेर मिर्गौला, क्यान्सर र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका करीब २ दर्जन विरामीलाई भेटेर मासिक ५ हजार रुपैयाँ जीवीकोपार्जन भत्ता दिने कार्यक्रमको शुरुवात गरेका थिए । तर त्यसपछिको दुई महिनामा कुनै पनि बिरामीले भत्ता पाएका छैनन् ।

भत्ता वितरणको समन्वय गरेको स्वास्थ्य सेवा व्यवस्थापन महाशाखाका फोकल पर्सन प्रकाश घिमिरे भन्छन्, ‘अहिले हामीकहाँबाट विरामीको तत्थ्यांंक लिने काम भइरहेको छ । भत्ता वितरणको काम मन्त्रालय र नयाँ मन्त्री ज्यूबाट निर्देशन पाएपछि अघि बढ्छ होला ।’  उनले अहिले १२ वटा अस्पतालबाट करीब २ हजार जनाको तथ्यांक लिइएको बताए ।

त्यसो त अघिल्लो सरकारले हतार हतारमा पैसा बाढने निर्णय गरेको भन्दै त्यतिबेलाका विपक्षी दलले विरोध गरेको थियो । अहिले सोही विपक्षी दलका नेता केपी ओलीले सरकारको नेतृत्व गरेका छन् ।

त्यतिवेला ओलीले देउवा नेतृत्वको सरकारले पछिल्लो पटक गरेका निर्णयहरु बदर गर्ने बताएका थिए । तर विरामीको जीवीको पार्जन भत्ताको अहिलेसम्म बदर भएको वा अघि बढाउने भन्ने बारेमा नयाँ सरकारले मुख खोलेको छैन ।

बजेटको अख्तियारीमा क्यान्सर र स्पाइनल इन्जुरी मात्रै
कार्यविधिमा क्यान्सरको उपचाररत विरामी, मिर्गौला फेल भई डायलासिस गराईरहेका तथा प्रत्यारोपण गरेका विरामी र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका विरामीलाई मासिक ५ हजार रुपैयाँ दिइने उल्लेख छ । र घोषणा गरिएको पनि त्यहि नै हो ।

तर, अर्थ मन्त्रालयले पठाएको बजेटको अख्तियारीमा क्यान्सर र स्पाइनल इन्जुरी पछि प्यारालाइसिस भएका विरामीका लागि मात्रै भत्ता उपलव्ध गराउन उल्लेख छ । अख्तियारीमा मिर्गौलाका विरामीलाई भत्ता उपलव्ध गराउने भन्ने कुरा नै छुटेको छ ।

घिमिरे भन्छन्, ‘अर्थले पठाएको बजेट अख्तियारीमा मिर्गौला रोगका विरामीलाई दिइने भनिएको ५ हजार भत्ताको कुरा छुटेको छ । दुई वटा रोगहरु क्यान्सर र स्पाइनल इन्जुरीका लागि मात्रै बजेट उपलव्ध गराइएको उल्लेख छ । यसलाई पनि सच्याउन पर्ने छ ।’

बजेट १२ करोड लाग्ने ८० करोड
तत्कालिन देउवा सरकारले तीन रोगका विरामीलाई जीवीकोपार्जन भत्ता स्वरुप मासिक ५ हजार रुपैयाँ उलव्ध गराउन भन्दै यस आर्थिक बर्षका लागि १२ करोड रुपैयाँ उपलव्ध गराएको छ । तर यो कार्यक्रमलाई समेटन यसै आर्थिक बर्षका लागि कम्तीमा ८० करोड रुपैयाँ चाहिने मन्त्रालयका अधिकारी बताउँछन् ।

घिमिरे भन्छन, ‘हाम्रो अनुमान यहि आर्थिक बर्षका लागि कम्तीमा ८० करोड रुपैयाँ चाहिन्छ । अघिल्लो सरकारले १२ करोड रुपैयाँ पठाएको छ ।’

तत्कालिन स्वास्थ्य मन्त्री दीपक बोहराको प्रस्तावमा गत १३ पुसमा बसेको मन्त्रिपरिषदको बैठकले क्यान्सर, मिर्गौला र स्पाइन इन्जुरीपछि प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ जिविकोपार्जन भत्ता उपलव्ध गराउने निर्णय गरेको हो ।

सो भत्ताका लागि आर्थिक स्रोत सूर्तिजन्य पदार्थको बिक्रीबाट आउने राजश्वलाई लिइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *