औषधिको मूल्य नघटाई लक्ष्य हासिल हुँदैन : स्वास्थ्यमन्त्री थापा

जेनेभा ११ जेठ । स्वास्थ्यमन्त्री गगन थापाले स्वास्थ्यमा अपेक्षित लक्ष्य हासिल गर्न औषधिको मूल्य घटाउनु अनिवार्य रहेको बताएका छन् ।

उनले विश्व स्वास्थ्य सङ्गठनलाई क्षेत्रीय निकायसँग सहकार्य गरी औषधिको मूल्य घटाउने कार्यमा अघि बढन सुझाव समेत दिएका छन् ।

स्विट्जरल्याण्डको जेनेभामा भइरहेको विश्व स्वास्थ्य सङ्गठनको ७०औँ महासभामा नेपालका तर्फबाट सम्वोधन गर्ने क्रममा मन्त्री थापाले स्वास्थ्यका यतिवेलाको समस्या औषधिको चर्को मूल्य हुनु भन्दै यसतर्फ सबैको ध्यान जानु आवश्यक रहेको बताए ।

नेपालकै उदाहरण दिँदै उनले भने, ‘एउटा नेपालीले गर्ने कुल खर्च मध्ये ६७ प्रतिशत रकम औषधिमा जाने गर्छ । त्यसैले अहिलेको ठूलो समस्या भनेको महङ्गो औषधि हो, स्वास्थ्य क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न यसको मूल्य नघटाई हुन्न ।’

डव्लुएचओले सार्क, आसियान, अफ्रिकन युनियनजस्ता निकायसँग सहकार्य गरी यसबारेमा काम गर्नुपर्ने टड्कारो आवश्यकता रहेको र औषधिको मूल्य नघटाउँदासम्म स्वास्थ्यमा गरिब जनताको समान पहुँच पु¥याउन नसकिने मन्त्री थापाको भनाइ छ ।

सहकार्य गर्नुपर्नेमा जोड

मन्त्री थापाले हरेक महादेशका क्षेत्रीय निकायसँग सङ्गठनले सहकार्य गर्नुपर्नेमा जोड दिए । सम्वोधनका क्रममा क्षेत्रीयस्तरमा काम गर्दा स्वास्थ्य क्षेत्रका कामलाई फलदायी बनाउन सकिन्छ भन्दै उनले कुनै पनि देशको स्रोतसाधनको अधिकतम उपयोग गर्न र दीर्घकालीन निर्णयलाई प्रभावकारी बनाउन क्षेत्रीय निकायको भूमिका महत्वपूर्ण हुने बताए ।

सङ्गठन र अन्य सहयोगी संस्थासँगको सम्बन्ध लिने र दिनेको मात्र भएकाले यसलाई प्राविधिक विषयमा मात्र सीमित बनाउन नहुने उनको आग्रह थियो ।

नवनिर्वाचित महानिर्देशकसंग भेटबार्ता

यसैबीच स्वास्थ्य मन्त्री थापाले ७० औँ साधारणसभाबाट पाँचवर्षे कार्यकालका लागि निर्वाचित भएका डव्लुएचओका महानिर्देशक डा टेन्ड्रोस अधानोमसंग भेटघाट गरेका छन् ।सो अवसरमा उनले डा टेन्ड्रोसको सफल कार्यकालको शुभकामना दिदै नेपाल भ्रमणको लागि निम्तो दिएका थिए ।

मङ्गलबार राति १९४ सदस्य देशको विभिन्न चरणको मतदानबाट निर्वाचित डा. टेन्ड्रोसले मन्त्री थापासँगको भेटमा मिलेर काम गर्ने बताएका थिए ।

उनले आगामी जुलाइबाट आफ्नो कार्यकाल सम्हाल्ने छन् ।महासभा जेठ १७ गतेसम्म चल्नेछ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *