स्वास्थ्य मन्त्रालयको अनुगमनपछि निजी क्लिनिक दर्ता गर्ने बढे

anugaman
काठमाडौँ, ५ मंसिर –  स्वास्थ्य मन्त्रालयले दर्ताबिना सञ्चालनमा आएका र नवीकरण नभएका क्लिनिकमा अनुगमन गरी सिलबन्दी गर्न थालेपछि काठमाडौँ र ललितपुर जनस्वास्थ्य कार्यालयमा दर्ता गराउने बढेका छन् ।

एक साताअघिबाट बिनादर्ता सञ्चालन भएका क्लिनिकमा अनुगमन तीब्र पारिएपछि उपत्यकाका तीनै जनस्वास्थ्य कार्यालयमा दैनिक सरदर १३ क्लिनिक दर्ताका लागि जाने गरेका छन् ।

काठमाडौँ जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले अहिले दर्ता र नवीकरण गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको बताए । यसअघि सातामा तीन/चारवटा मात्र आउने गरेकामा अहिले दैनिक १३ भन्दा बढी आउने गरेको जानकारी दिए ।

ललितपुर जनस्वास्थ्य कार्यालयका ल्याब टेक्निसिएन शङ्कर पौडेलले अहिले सिलबन्दी गरिएका पनि दर्ताका लागि आएको र अन्य पनि सिल हुने डरले आइरहेको बताए । आज पनि स्वास्थ्य मन्त्रालयबाट अनुगमनका लागि गएको टोलीले काठमाडौँ र ललितपुरमा थप तीनवटा क्लिनिकमा सिलबन्दी गरेको छ ।

आज काठमाडौँको सोह्रखुट्टेमा रहेको न्यून शुल्क दन्त चिकित्सालयमा सिलबन्दी गरिएको छ । टोली आज सोह्रखुट्टे, सीतापाइला, गोङ्गबु क्षेत्रमा रहेका १४ वटा निजी क्लिनिकमा अनुगमन गरेको थियो ।

यसैगरी ललितपुरको सातदोबाटो क्षेत्रका ११ वटा क्लिनिकमा गरिएको अनुगमनमा दुई क्लिनिक सिल गरिएको छ । बिनादर्ता सञ्चालनमा रहेका श्री मनकामना मेडिकल पोलिक्लिनिक र रुद्राक्ष आयुर्वेद क्लिनिकमा सिलबन्दी गरिएको अनुगमन टोलीका सदस्य तथा मन्त्रालयका शाखा अधिकृत कृष्ण सुवेदीले जानकारी दिए ।

यो दुई जिल्लाका हालसम्म बिनादर्ता सञ्चालनमा रहेका ४० क्लिनिक सिल भएका छन् । मन्त्रालयले अघिल्लो सातादेखि अनुगमन सुरु गरेको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *