स्वास्थ चौकीका लागि १५ लाखको जग्गा प्रदान

jagga

पर्वत , ४ मंसिर –  यहाँको एक विकट गाउँमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा प्रदान गरेका छन् ।

पर्वत जिल्लाको बाच्छा गाविसका स्थानीयवासीले स्वास्थ्य चौकीको भवन निर्माणका लागि रु १५ लाख ६० हजार बराबरको जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको पुराना उप–स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी सुविधा सम्पन्न स्वास्थ्यचौकी बनाउने लक्ष्य अनुरुप नयाँ बन्न थालेको भवनका लागि स्थानीयवासीले उक्त सहयोग गरेका हुन् ।

स्वास्थ्य चौकी भवन निर्माण गर्न करिब चार रोपनी जग्गा आवश्यकपर्ने प्रावधान भएका कारण स्थानीयवासीले पाँच रोपनी तीन आना भन्दा बढी जग्गा उपलब्ध गराएका हुन ।

उक्त गाविसका ९ जना समाजसेवीले स्वास्थ्य चौकीलाई रु १५ लाख ६० हजार मूल्य बराबरको जग्गा निःशुल्क प्रदान गरेको बाच्छा स्वास्थ चौकीका अहेब खिमप्रसाद कोइरालाले जानकारी दिए ।

बाच्छा गाविस– ८ मा बसोवास गर्ने भुवनसिंह, हेमान सिंह, रामप्रसाद गुरुङ, दिलीप गुरुङ, मेख बहादुर गुरुङ, रत्नबहादुर गुरुङ, भिमप्रसाद गुरुङ र वडा– ७ का नेत्रबहादुर गुरुङ र रमेश गुरुङले उक्त जग्गा स्वास्थ्य संस्थालाई निःशुल्क प्रदान गरेकोअहेब कोइरालाले जानकारी दिए ।

‘स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा आम नागरिकको सहज पहुँच होस् भन्ने हेतुले आफूहरुले स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा दान गरेको जग्गादाता रामप्रसाद गुरुङले बताए ।

जग्गा उपलब्ध भए पश्चात् अब बाच्छा स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भवन निर्माण कार्यका लागि प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

जिल्लाका विभिन्न गाविसमा स्वास्थ्य चौकीको भवन निर्माण भइसकेको र केही निर्माणाधिन अवस्थामा रहेका छन् । अन्य गाविसमा भवन निर्माण गरिसकिएको र यसवर्ष पनि केही नयाँ भवनका लागि स्वास्थ्य सेवा विभागमा पहल थालिएको पर्वत क्षेत्र नं– २ का सांसद विकास लम्सालले जानकारी दिए।

उक्त जग्गा प्राप्त भएपछि यसै वर्षदेखि रु दुई करोडको लागतमा भवन निमाणकार्य सुरु हुने जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । भवन अभावमा अहिले पुरानो र जीर्ण भवनबाट सेवा दिइँदै आएको छ ।

कच्ची भवन चुहिने र घामभित्र छिर्ने भएकाले औषधिको भण्डारण गर्न तथा बिरामीलाई जाँच गर्न समेत समस्या भएको स्वास्थ्य चौकीले जानकारी दिएको छ । यसअघि जिल्लाका अधिकांश गाविसमा सुविधा सम्पन्न भवन निर्माण भइसकेका छन् ।

पर्वतमा एक जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्य चौकी र ५२ वटा स्वास्थ्यचौकी रहेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *