दुर्गमका स्वास्थ्य संस्था खाली गरेर सरुवा

जाजरकोट, ३ मंसिर – यहाँ दुर्गमका स्वास्थ्य संस्था खाली बनाएर स्वास्थ्यकर्मीको सरुवा गरिएको छ ।

विगतमा झाडापखाला र स्वाइनफ्लुको महामारी फैलिएका पैक, नायकवाडा र रग्दा गाविसका स्वास्थ्य संस्था नै खाली हुने गरी स्वास्थ्यकर्मी सरुवा गरिएको हो ।

यसरी स्वास्थ्य संस्था नै खाली गराएर सरुवा गरिँदा यहाँका स्थानीयवासी स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुने भएका छन् । रग्दा गाविसको स्वास्थ्य चौकीबाट दुईजना अहेबको दरबन्दी खाली हुने गरी सुरुवा गरिएको छ ।

त्यस्तै नायकवाडा गाविसको स्वास्थ्य चौकीमा दुईजना अहेबलाई एकैपटक सरुवा गरी स्वास्थ्य संस्था नै खाली गराइएको छ । स्वाइन फ्लु फैलिएको पैक गाविसको स्वास्थ्य संस्थामा कार्यरत दुईजना अहेबको पनि सरुवा गरिएको छ । अहिले यी सबै ठाउँमा एकजना अनमीको भरमा स्वास्थ्य संस्था सञ्चालन भएका छन् । कार्यालय खोल्ने र बन्द गर्ने अनि गर्भवती जाँचमात्र गर्ने अधिकार अनमीमा हुने गरेको छ ।

यसरी २० भन्दा बढी स्वास्थ्यकर्मीको स्वास्थ्य संस्था नै खाली हुने गरी सरुवा गरिएपछि जाजरकोटका दुर्गम भेगका वासिन्दा आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् ।

सरुवा गरिएलगत्तै यहाँको बहिरङ्ग सेवासमेत बन्द हुन पुगेको छ । सरुवा गरिएको ठाउँमा लोक सेवा आयोगको परीक्षाफल प्रकाशित भएपछि मात्र पदपूर्ति हुने जनाइएको छ ।

स्वास्थ्य सेवा विभागले गत कात्तिक ३० गतेको निर्णयबाट यी सरुवाहरु भएका हुन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *