कारागारमा छाला रोगको प्रकोप

karagharचितवन, १७ कात्तिक – चितवनको भरतपुरस्थित जिल्ला कारागारमा छाला रोगको प्रकोप फैलिएको छ ।

क्षमताभन्दा बढी कैदी र थुनुवा रहेको भरतपुर कारागारमा दाद, छाला चिलाउने, विभिन्न बिबिरा आउने तथा एलर्जी देखिएको कारागारका चौकीदार अमृत गुरुङले जानकारी दिए ।

कारागारमा रहेका झन्डै ६०० कैदी र थुनुवामध्ये ५० प्रतिशतमा रोग देखिएको गुरुङले बताए । छाला रोगको प्रकोप नै फैलिएपछि कैदी र थुनुवाले उपचार गरी पाउँ भन्दै कारागार व्यवस्थापनलाई निवेदन समेत दिएका छन् ।

कारागारभित्रै कैदीको रुपमा रहेका अहेव तथा मेडिकल नाइके ओदारी महतोले छालाको रोग देखिएको लामो समय भए पनि अहिले भने रोग बढेर गएको बताए ।

कैद भुक्तान गरिरहेका उनी कैदी र थुनुवालाई कारागारभित्रै उपचार गर्ने मेडिकल प्राविधिक छन् । भित्रको औषधिले नभेटेकाले बाहिरबाट औषधि र चिकित्सक ल्याउनुपर्ने महतोको भनाइ छ ।

कारागारमा छालाको रोग बढेको बताउँदै कारागार प्रमुख कमल काफ्लेले रोगको उपचारका लागि बाहिरबाट औषधि र चिकित्सक ल्याउने तयारी भएको बताए । यो वर्ष कैदी र थुनुवाको उपचारका लागि भनेर रु १० लाख रकम सरकारबाट आएको काराकारले जनाएको छ ।

दुई सय ५० कैदीबन्दी राख्न मिल्ने क्षमताको कारागारमा अहिले झन्डै ६०० पुगेका छन् । कारागारभित्र व्यक्तिगत सरसफाइको अभाव छ । बढी कोचिएर बस्नपर्ने बाध्यताले छालाको रोग बढेको हो ।

अहिले नियमित उपचार गर्ने अन्य बिरामी क्यान्सरका पाँच जना, टिभीका पाँच जना, हेपाटाईटिसका दुई जना तथा अधिकांश उच्च रक्तचाप र मधुमेहका बिरामी रहेको कारागारले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *