मुटुरोग शिविरमा एक हजार एक सय जनाको मुटु परीक्षण

mutu-sibir3

पर्वत, १५ कात्तिक –  जिल्ला सदरमुकाम कुश्माबजारमा सम्पन्न दुई दिने मुटुरोग परीक्षण शिविरमा एक हजार एक सय जनाले मुटु परीक्षण गराएका छन् ।

दुर्गम बस्तीमा पुगेर मुटुरोगको परीक्षण गर्ने अभियानका क्रममा शनिबार आइतबार गरी दुई दिन सञ्चालित शिविरमा एक हजार एक सय जनाको मुटु परीक्षण गरिएको हो । धौलागिरि अञ्चलका दुर्गमबस्तीका बासिन्दाको मुटुसम्बन्धी समस्या परीक्षण गर्ने र उनीहरुको निःशुल्क उपचार गर्ने उद्देश्यसहित दुई दिने शिविर सञ्चालन गरिएको थियो ।

पर्वतमा क्रियाशिल पाँच वटा लायन्स क्लबको आयोजना र मुटु बचाउ अभियानलगायतका संस्थाको सहयोगमा सञ्चालित दुर्गम बस्तीका लागि लक्षित शिविरमा पहिलो दिनमा ६०० र दोस्रो दिनमा ५०० भन्दा बढीको परीक्षण गरिएको थियो ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईको नेतृत्वमा आएको टोलीले बिरामीको परीक्षण गरेको हो ।

शिविरमा सबैभन्दा बढी ब्लड प्रेसरका बिरामी भेटिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल भट्टराईले जानकारी दिए। शिविरमा परीक्षण गरिएका बिरामीमध्ये २६ जनालाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । परीक्षण गरिएका बिरामीमा चार जना मुटुमा प्वाल परेका बिरामी फेला परेका छन भने सात जनाभन्दा बढी भल्ब थुनिएका बिरामी भेटिएका छन् ।

शिविर आयोजना गर्न एनआरएनका संयोजक कुल आचार्यले रु ७० हजार, लायन्सका कुश्मास्थित डिस्ट्रिक पदाधिकारीले रु ४० हजार र लायन्स डिस्ट्रिक गर्भनर बालकृष्ण बर्लाकोटीले रु २५ हजार सहयोग गरेका थिए ।
शिविरमा पर्वत, बागलुङ, म्याग्दी र कास्कीका विभिन्न स्थानका बिरामी सहभागी भएका थिए । उक्त टोलीले यसअघि फलेवास, तिलाहारलगायतका गाविसमा पनि शिविर सञ्चालन गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *