ब्लड बैंकमा रगत अभाव, बिरामीलाई सास्ती

बालकुमारीमा रहेको व्लडबैंक
बालकुमारीमा रहेको व्लडबैंक

काठमडौँ, १३ कात्तिक – दाङका इन्द्र गिरीका बुवा काशीरामको क्यान्सर पुष्टिपछि पित्तथैलीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भयो । थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका काशीरामको शल्यक्रिया गर्नुअघि रगतको जोहो गर्न चिकित्सकले परिवारसँग आग्रह गरे । अस्पतालमा नपाइएपछि इन्द्र अत्तालिँदै बालकुमारीस्थित नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार केन्द्रमा पुगे ।

केन्द्रले रगत स्टक नभएको र रक्तदानका लागि कसैलाई खोजेर ल्याउन भन्यो । शुक्रबार यो संवाददाता केन्द्रमा पुग्दा उनी रगत राख्ने भाँडो बोकेर छटपटाउँदै थिए । पसिनाले उनको अनुहार भिजेको थियो । ‘रगत छैन कोही खोजेर ल्याउनु हामी झिकिदिन्छौं भन्नुहुन्छ । त्यो पनि म्याच भएपछि लैजानुहोला नभए अर्को खोज्नुपर्छ भन्नुहुन्छ यहाँका कर्मचारी’ गिरीले भने, ‘नयाँ ठाउँमा कहाँ जाने र कसलाई खोजेर ल्याउने ? उता, बुवाको अवस्था नाजुक बन्दै छ ।”

blood
इन्द्रको आडैमा छटपटाइरहेका रामेछापका भीमबहादुर बस्नेतको हालत पनि उस्तै थियो । मोटोरसाइकल दुर्घटनामा परेका उनका भान्जा दीपेश बुढाथोकीको मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ । चिकित्सकले रगत नभए ज्यान जाने संकेत गरिसकेका छन् । मोटरसाइकल हाँकेर सबेरै उनी केन्द्रमा आए पनि रगत पाएनन् । आत्तिँदै भएजति आफन्तलाई फोन गरिहेका थिए उनी । गिरी एक्ला थिएनन् आफन्त बचाउन रगतका लागि हार गुहार गर्नेहरू । त्यहाँ रगत लिन चाहनेहरूको भीडले त्यही संकेत गरिरहेको थियो ।

विगत एक सातायता केन्द्र परिसरमा यस्ता सयौं मानिस रगत राख्ने भाँडो बोक्दै छटपटाउने गरेका छन् । रगत नपाउँदा दैनिक ३० भन्दा बढी व्यक्ति त्यसै फर्कने गरेको अनुमान गर्छन त्यहाँ आउने जानेहरू । बाँकीले आफन्त ल्याएपछि मात्रै रगत किन्न पाएका छन् । रगत अभाव भएको सूचनासमेत केन्द्रले नदिँदा बिरामीका आफन्तले दुःख पाउने गरेका छन् ।

सबैभन्दा धेरै रगत संकलन र वितरण गरिरहेको केन्द्रमा एक सातादेखि रगतको स्टक शून्य छ । ग्रुप नमिलेर फिर्ता पठाइएको रगत पाउन पनि बिरामीका आफन्त तँछाडमछाडमा उत्रिनुपरेको छ । आफ्ना बिरामीका लागि आफैं रगतको व्यवस्था गर्दै आएका कतिपय सरकारी तथा निजी अस्पतालमा पनि रगत उपलब्ध नभएको अस्पतालहरूले पुष्टि गरेका छन् ।

केन्द्रमा अघिपछि करिब एक हजार युनिट रगत स्टकमा हुन्थ्यो र दैनिक चार सयभन्दा बढी युनिट वितरण गरिन्थ्यो । ३५ दिनसम्म स्टक राख्न मिल्ने भए पनि समयमै रगत संकलनमा केन्द्र संवेदनशील नबन्दा बिरामीले सास्ती पाउनुपरेको हो । केन्द्रका कर्मचारीहरू दसैंअघि जति रगत संकलन हुनुपथ्र्यो त्यो नहुँदा अहिले रगतको अभाव भएको बताउँछन् ।

केन्द्रकी निर्देशक डा। मनिता राजकर्णिकार पनि रगत अभाव भएको स्वीकार गर्छिन् । तर यतिका लामो समयसम्म किन रगत अभाव भयो भन्ने प्रश्नको स्पष्ट जबाफ छैन उनीसँग । चाडपर्व भएकाले दाताहरू ह्वात्तै घटेकाले रगत अभाव भएको उनको तर्क छ । ‘रक्तदानका लागि ५० दातालाई अनुरोध गर्दा १० जनाबाट मात्रै रक्तदान भयो । यस्तो अवस्थामा अभाव स्वाभाविक हो ।’ – आजको अन्नपूर्ण पोष्टमा दीपा दाहालको समाचार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *