चालीस प्रतिशत चर्पी प्रयोगविहीन अवस्थामा, प्रदूषित पानी पिउन बाध्य
(हरिकुमार राई)उदयपुर, ७ कात्तिक – उदयपुर जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको दुई वर्षसम्म पनि जनचेतनाको अभावमा जिल्लाका ग्रामीण भेगका झन्डै ४० प्रतिशत चर्पी अझैसम्म पनि प्रयोगविहीन अवस्थामा छन् ।
तराईको ग्रामीण क्षेत्र र पहाडी क्षेत्रका अधिकांश चर्पी अझैसम्म पनि प्रयोग हुन नसकेको कुरा जिल्ला सरसफाइ तथा खानेपानी डिभिजन कार्यालय र यसका अनुगमनकर्ता र समन्वय समितिका अध्ययनले देखाएको छ ।
पत्रकार तथा खानेपानी सरसफाइ समन्वय समिति (जेवास–सिसी)का संयोजक कौशल चेमजोङका अनुसार जिल्लाका धेरै ग्रामीण भेगमा जनचेतनाको अभावमा चर्पी प्रयोग हुन नसकेको अध्ययन प्रतिवेदनले देखाएको बताए ।
पहाडी क्षेत्रको झन्डै १५ गाविसमा अहिले पनि प्रत्येक घर र विद्यालयमा चर्पी निर्माण गरेको भएपनि ४० प्रतिशत पनि चर्पी प्रयोगमा नआएको अनुगमनकर्ता तथा पत्रकार महासङ्घ उदयपुरका सचिव भोटराज राईले बताए ।
धेरै विद्यालयमा चर्पी निर्माण भएपनि पानीको अभावमा चर्पी निर्माण हुन सकेका छैनन् भने अन्य गाउँघरमा चर्पी अझैसम्म पनि प्रयोग गर्ने चेतनाको अभावले चर्पीमा बाख्रा खसी तथा कुखुरा राख्ने गरेको यसका अनुगमनकर्ताहरुको भनाइ छ ।
यता जिल्लाकै तराई क्षेत्रका गाविसहरु हँडिया, जोगिदह, सुन्दपुर, तपेस्वरी क्षेत्रका गाविसमा पानीको सुविधा भएपनि ५० प्रतिशत स्थानीयवासीले अहिले पनि चर्पी प्रयोग नगर्ने गरेको पाइएको छ ।
यस क्षेत्रमा बसोबास गर्ने मानिस तथा समुदायमा अझैसम्म पनि चर्पी प्रयोग नगर्ने संस्कार र नजिकैको खोला वा नदी किनार र पानीमा दिसापिसाब गर्ने आदतका कारण अहिले पनि चर्पी प्रयोगविहीन अवस्थामा रहेको सुन्दरपुरका प्रदीपनारायण चौधरीले बताए ।
जिल्ला खानेपानी डिभिजन तथा सरसफाइ कार्यालय उदयपुरका प्रमुख रामकुमार श्रेष्ठका अनुसार अझै पनि जिल्लामा जनचेतानको अभाव रहेका कारण चर्पी प्रयोगमा नमाएको उल्लेख गरे ।
खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्नका लागि जिल्लाका तीन वटा नगरपालिका र ४० गाविसका ६४ हजार ५०० घरधुरी परिवारको लागि दुई वर्षअघि नै करिब ६५ हजार चर्पी निर्माण गरिएको जिल्ला विकास समितिले जनाएकोे छ ।
बयालीस प्रतिशत प्रदूषित पानी पिउन बाध्य
जिल्लामा ८५ प्रतिशत पानीको स्रोत भएपनि अहिलेसम्म पनि ४२ प्रतिशले प्रदूषित पानी पिउँदै आएका छन् ।
तराईका ग्रामीण भेग र पहाडी क्षेत्रमा अहिले पनि ४२ प्रतिशतले प्रदूषित पानी पिउदै आएको जिल्ला खाने पानी डिभिजन कार्यालयले जनाएको छ ।
अहिलेसम्म उदयपुरमा ४३ प्रतिशत पानीमात्र पाइप प्रणालीबाट वितरण भएको र यस्तो पानी मात्र स्वच्छ र प्रदूषणरहित पानी भएको कार्यालयका प्रमुख रामकुमार श्रेष्ठ बताउँछन् ।
उनका अनुसार तराईका धेरै भूभागमा पाइप प्रणालीको उचित व्यवस्थापन भइ सकेको छैन । तर प्राय इनार वा ट्युबवेलको पानी प्रदूषित देखिनुका साथै यस्तो पानीमा आर्सेनिक तथा आइरन तत्वसमेत बढी हुने गरेका कारण पानी प्रयोगकर्ताको स्वास्थ्यमा हानि हुने गरेको हो ।
जिल्लामा ८५ प्रतिशत पानीको स्रोतमध्ये ४२ प्रतिशत पानी इनार, कुवा ट्युबुवेललगायतका पानी प्रयोग भइरहेकामा धेरैजसो यस्तो पानी प्रदूषित हुने गरेको कार्यालयले जनाएको छ ।
कतिपय दुर्गम पहाडी भेगमा वर्षामा तीन महिनामात्र कुवाको पानी उपलब्ध हुने र कात्तिकदेखि जेठसम्म नै पानीको अभाव हुने भएकाले खोलाको प्रदूषित पानीसमेत पिउन बाध्य हुनुपरेको त्यहाँका बासिन्दाको भनाइ छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बर्सेनि ३० प्रतिशत जिल्लाका वृद्धवृद्धा तथा बालबच्चा प्रदूषित पानीका कारण हैजा, टाइफाइड, झाडापखाला, लहरेखोकी आदिबाट ग्रसित हुने गरेका छन् । रासस
सम्पर्क इमेल : nepalihealthnews@gmail.com