रोग लुकाएर बस्छन् जाजरकोटका महिला

woman

जाजरकोट, ५ कात्तिक –  यहाँको भुर–९ की विर्मी पुनले पनि १३ वर्षदेखि पाठेघर खस्ने रोगका कारण धेरै दुःख पाइन्। १६ वर्षकै उमेरमा बिहे गरेर बर्सेनि सन्तान जन्माएर पाठेघर खस्ने समस्याबाट पीडित बनेकी उनले समयमै गतिलो उपचार नपाउँदा १३ वर्षसम्म कष्टपूर्ण जीवन बिताउनुप¥यो ।

पाठेघर खस्ने समस्याका कारण आफूले सजिलोसँग दिन काट्न पनि नपाएको र घरायसी काम पनि गतिलोसँग गर्न नपाएको विर्मीले दुःखेसो पोखिन् ।

दसेरा–८ की ५९ वर्षीया धनसरा नेपाली पनि १८ वर्षदेखि पाठेघर खस्ने समस्याबाट पीडित छन् । १४ वर्षकै उमेरमा बिहे गरेर पाँच छोराछोरी जन्माएकी धनसरालाई पाठेघर खस्ने समस्याका कारण जीवन कष्टकर बनेको बाँचेसरह भएको थियो ।

गत वर्षको माघमा मिसन अस्पताल चौरजहारीमा शल्यक्रिया गरेपछि भने उनी अहिले सामान्य अवस्थामा रहेकी छन् । उनले पाठेघर खस्ने समस्याले गर्दा आफूले १८ वर्षसम्म निकै ठूलो दुःख पाएको बताइन् । यही कारणले घरमा कामकाज गर्न पनि धेरै समस्या भएको उनको भनाइ छ ।

अस्पतालमा जाँदा पनि गतिलो उपचार नभएका कारण आफूले लामो समयदेखि पाठेघर खस्ने समस्याबाट पीडित बन्न बाध्य भएको विर्मी र धनसराको भनाइ छ ।

दसेराकी धनसरा र भुरकी विर्मी मात्र होइन, जिल्लाका १० हजार बढी महिलामा पाठेघर खस्ने समस्या भएको अनौपचारिक तथ्याङ्क छ । १३÷१४ वर्षकै उमेरमा विवाह गरेर विभिन्न कारणले पाठेघर खस्ने समस्याबाट पीडित बनेका धेरै ग्रामीण भेगमा महिला छन् ।

समयमा उपचार नहुँदा जाजरकोटका महिलाको पाठेघरको समस्या झन भयङ्कर बन्दै गएको अन्य सरोकारवाला बताउँछन् ।, जिल्लामा कुल विवाहित महिलाको जनसङ्ख्यामध्ये ४७ प्रतिशत महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको यस क्षेत्रमा क्रियाशील विभिन्न सङ्घसंस्थामा आबद्ध संस्थासँग अनौपचारिक तथ्याङ्क छ ।

पाठेघर खस्ने समस्याबाट पीडित महिलाको पहिचान तथा उनीहरुको निःशुल्क उपचारका लागि गरिएको प्रयासबाट अहिलेसम्म २३७ जनाको उपचार गरिएको वातावरणीय कृषि विकास केन्द्र ९केडका जिल्ला कार्यक्रम अधिकृत रामविक्रम शाहले बताए।

जिल्लाका २१ देखि ८० वर्षसम्मका महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको भेटिएको शाहले बताए। जिल्ला अस्पतालमा उपकरण अभावमा उपचार तथा शल्यक्रियाको सुविधा नभएकाले पीडित महिलालाई चौरजहारी तथा कोहलपुरको मेडिकल कलेजमा लैजानुपर्ने शाहले बताए।

जिल्लामा सबैभन्दा बढी पाठेघर खस्ने समस्या भएको गाविस मजकोट रहेको केडका जिल्ला कार्यक्रम अधिकृत रामविक्रम शाहले बताए । उनले सानो उमेरमा गरिने विवाह, गर्भवती र सुत्केरी अवस्थामा पोषणयुक्त खानाको अभाव, गह्रौँ भारी बोक्नुपर्ने, बर्सेनि बच्चा जन्माउने र जनचेतना अभावजस्ता कारण जिल्लामा पाठेघर खस्ने समस्या विकराल बन्दै गएकामा चिन्ता व्यक्त गरे।

पाठेघर खस्ने रोगबाट पीडित महिलाका लागि सरोकारवालाको पहलमा अहिले पाठेघर उपचार कोष स्थापना गरिएको र जसले पाठेघर खस्ने समस्या भएका महिलालाई सम्पूर्ण उपचार खर्च बेहोर्न सहयोग पुगेको जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स सरिता चन्दले बताइन्।

उनका अनुसार जिल्लामा ३० प्रतिशतभन्दा बढी महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको र त्यसमध्ये पाँच प्रतिशत महिलालाई शल्यक्रिया नगरी नहुने अवस्था रहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *