अस्पताललाई उपकरण सहयोग

म्याग्दी, ४ कात्तिक –  बेनीस्थित जिल्ला अस्पताललाई एक अमेरिकी संस्थाले श्वासप्रश्वासको माध्यमबाट बिरामीलाई बेहोस बनाउने (जनरल एनेस्थेसिया)उपकरण सहयोग गरेको छ ।

निक साइमन इन्स्टिच्युटले १३ लाख रुपैयाँ पर्ने उपकरण सहयोग गरेको हो । १९ लाख रुपैयाँ बजार मूल्य रहेको उपकरण छ लाख रुपैयाँ भन्सार छुटमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ चिकित्सक रोशन न्यौपानेले बताए।

उनका अनुसार सो उपकरण शल्यक्रिया गर्नुपर्ने बिरामीलाई बेहोस बनाउन प्रयोग हुन्छ । यसअघि ढाडमा सुई लगाएर बेहोस बनाई शल्यक्रिया गरिँदै आएको अस्पतालमा उपकरण भित्रिएपछि शल्यक्रिया सेवालाई थप प्रभावकारी बनाउन सघाउ पुग्ने चिकित्सक न्यौपानेले बताए ।

“उपकरणको सहयाताले बिरामीलाई बेहोस बनाएर अप्रेशन गर्दा मुटु र श्वासप्रश्वासको अवस्था समेत थाहा पाउन सकिन्छ”, चिकित्सक न्यौपानेले भने, “सुईभन्दा उपकरण धेरै नै प्रभावकारी हुन्छ ।” अस्पतालले निक साइमनको सहयोगमा साढे दुई वर्षदेखि शल्यक्रियामार्फत प्रसूति गराउनुका साथै हाइड्रोसील, हर्नियालगायत रोगको शल्यक्रिया सेवा दिँदै आएको छ । एक सयजना भन्दा धेरैलाई शल्यक्रिया गरेर प्रसूति सेवा दिइएको छ ।

मासिक ५० देखि एक सयवटा शल्यक्रिया हुने गरेको चिकित्सक धिरेन मल्लले बताए । सो उपकरण निक साइमन इन्स्टिच्युटका संस्थापक जिम्स र मेरी साइमनले अस्पताललाई हस्तान्तरण गरे ।

यसैबीच, जिल्ला अस्पतालले आफ्नै फार्मेसी (औषधि पसल) सञ्चालन गरेको छ । सर्वसाधारणलाई सहज र सर्भसुलभ रुपमा औषधि उपलब्ध गराउने उद्देश्यले सरकारको नीति तथा कार्यक्रमअनुसार स्थापित फार्मेसीको मङ्गलबार स्वास्थ्यमन्त्री गगन थापाले उद्घाटन गरेका हुन्।

बजारमूल्यभन्दा सात प्रतिशतसम्म छुटमा औषधि बिक्री गरिने अस्पतालका फार्मेसी कक्ष प्रमुख सुवास जिसीले बताए। हाल बिहानदेखि राति दश बजेसम्म खुल्ने औषधि बिक्री कक्ष केही समयपछि चौबिसै घन्टा सञ्चालन गरिने उनले जानकारी दिए ।

अस्पतालले औषधि बिक्री कक्ष सञ्चालन गरेपछि निजी औषधि पसलबाट महँगोमा औषधि खरिद गर्नुपर्ने समस्या कम हुने अपेक्षा गरिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *