चिकित्सा शिक्षा क्षेत्रको अध्ययनसम्बन्धी उपसमिति गठन

काठमाडौँ, ३ कात्तिक –  व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिले चिकित्सा शिक्षा क्षेत्रको समग्र अध्ययनका लागि उपसमिति गठन गरेको छ ।

समितिको आजको बैठकले पछिल्लोपटक चिकित्सा शिक्षामा देखिएको भर्ना, चिकित्सा शिक्षा शुल्क, सिट सङ्ख्या, मेडिकल काउन्सिल र मापदण्डलगायतको बारेमा अध्ययन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

सांसद जीवन परियार, डा. वंशीधर मिश्र, रत्नदेवी गुरुङ, बबिता मुक्तान र अनुराधा थापामगर सदस्य रहनुभएको सो उपसमितिले १५ दिनभित्रमा समिति समक्ष प्रतिवेदन प्रस्तुत गर्नेछ । नौ सदस्यीय उपसमितिका लागि बाँकी सदस्य पछि थप गरिनेछ ।

बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले चिकित्सा क्षेत्रका समग्र समस्याको समाधान गर्न सरकारले चिकित्सा शिक्षासम्बन्धी ऐन ल्याउन लागिएको जानकारी दिए ।

समितिका सभापति रञ्जुकुमारी झाले उपसमितिको प्रतिवेदनको आधारमा समितिले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने बताइन् ।

सांसद डा. शेखर कोइराला, गणेशमान गुरुङ, उमेश श्रेष्ठ, बाबुराम पोखरेल, जीवन परियार, तेजुलाल चौधरी, हरि सुवेदी, शारदा पौडेल, अनुराधा थापामगर र आशा कोइरालालगातयले स्वास्थ्य क्षेत्रमा देखिएका समग्र समस्या समाधानका लागि अपिल गरे । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *