आफ्नो क्यान्सर निको भएपछि अन्य क्यान्सरपीडित बालबालिकालाई सहयोग

काठमाडौँ, २२ असोज । केही महिनाअघि मात्र क्यान्सरको सफल उपचार गर्नुभएकी ११ वर्षीया विधि पुरीले आफू जस्तै क्यान्सरबाट पीडित २६ बालबालिकालाई आज दसैँ खर्च तथा खानेकुरा वितरण गरेकी छन् ।

कान्ति बाल अस्पतालमा गएर उनले ती बालबालिकालाई रु एक हजार चार सय दुई र खानेकुरा वितरण गरेकी हुन् । सात महिनाअघि उनको पनि सोही अस्पतालमा क्यान्सरको उपचार भएको थियो ।

अस्पतालका वरिष्ठ बालविशेषज्ञ डा प्रकाशनिधि तिवारीका अनुसार यो अस्पतालमा वार्षिक दुई÷तीन सय क्यान्सर पीडित बालबालिका उपचारका लागि आउने गरेका छन् ।

मुलुकमा वार्षिक एक हजार ६०० सम्म नयाँ बिरामी देखापर्ने भए पनि अस्पतालमा उपचारका लागि आउनेको सङ्ख्या निकै कम रहेको उनले बताए । उनले भने, “बालबालिकामा हुने क्यान्सरमध्ये ८० प्रतिशतलाई निको पार्न सकिन्छ । समयमै उपचार गराउन सक्यो भने उनीहरु स्वस्थ्य रुपमा ८०÷९० वर्षको उमेरसम्म बाँच्न सक्छन् । तर अन्य उमेरका बिरामीमा भने त्यो हुँदैन ।”

डा तिवारीका अनुसार आमाले गर्भावस्थामा गर्ने व्यवहार, खानपानले पनि बालबालिकामा क्यान्सर हुने भएकाले गर्भवतीले विशेष ध्यान दिनुपर्छ ।

यसैगरी विकिरणको सम्पर्कमा रहने, एक्स–रे हुने, रसायनयुक्त खानपानले क्यान्सर हुने गर्छ । बालबालिकामा बारम्बार ज्वरो आइरहने, निको नहुने, शरीर शिथिल हुने, शरीरमा निलो डाम हुने, नाक, दिसा, पिसाबबाट रगत निस्कने, काम्ने, शरीरमा डल्लाडल्ली देखापर्नेजस्ता लक्षण देखिए क्यान्सर हुन सक्ने उच्च सम्भावना भएकाले यसप्रति अभिभावकले सचेत हुनुपर्ने डा तिवारीको कथन छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *