डेङ्गु रोगी बढेपछि केन्द्रीय टोली चितवनमा

dangu

रत्ननगर (चितवन), २२ असोज – डेङ्गु रोगको सङ्क्रमण बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली सङ्क्रमण नियन्त्रणका लागि चितवन आइपुगेको छ ।

यो रोगप्रति स्थानीय समुदायलाई सचेत पार्न तथा रोगको अवस्था अध्ययनका लागि टोली चितवन आइपुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

चितवनमा भदौको पहिलो सातादेखि असोज २० गतेसम्म ११९ जनामा र असोज २१ गते एकैदिन छ जना गरी १२५ जनामा यो रोगको सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये करिब ८० प्रतिशत रत्ननगरका बिरामी छन् । त्यसैले नियन्त्रणका लागि यहाँ केन्द्रीय टोली आएको हो ।

शुक्रबार आएको टोलीले रत्ननगरका स्थानीय समुदायसँग छलफल गरी जानकारी लिएको र अवस्था अध्ययन गरिरहेको छ । अध्ययनपछि नियन्त्रणका अन्य उपाय अगाडि बढाउने जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताउनुभयो ।

महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछाने, भीमप्रसाद सापकोटा र जनस्वास्थ्य निरीक्षक हरिप्रसाद आचार्यसहित जिल्ला जनस्वास्थ्य कार्यालय चितवनको टोली रोग नियन्त्रणका लागि रत्ननगरलगायत क्षेत्रमा खटिएको छ ।

“हामीले स्थानीयस्तरमै पुगेर अवस्था अध्ययन ग¥यौँ, केन्द्रीय टोलीका सदस्य तथा जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले भन्नुभयो – रत्ननगरमा डेङ्गु फैलँदो क्रममा छ, स्थानीयवासीले घर वरपर भाँडामा जमेको पानी नष्ट गरेर सरसफाइमा ध्यान दिए रोगको सङ्क्रमणमा कमी आउँछ ।”

उहाँले डेङ्गुका लार्भा खोजेर नष्ट गर्नु नै अहिले नियन्त्रणको सबैभन्दा उत्तम उपाए भएको बताउनुभयो ।

डेङ्गु सार्ने लामखुट्टेले कुनै पनि भाँडा, टायर, टिनको बट्टा र प्लास्टिकका टुक्रामा जमेको पानीमा लार्भा हुर्काउँछ, त्यसैले यस्ता भाँडामा पानी जम्न दिन नहुने उहाँको भनाइ छ ।

केन्द्रीय टोलीका अर्का सदस्य भीमप्रसाद सापकोटाले परीक्षणमा सहज होस् भनेर यहाँ ५० वटा किटसमेत ल्याएको जानकारी दिनुभयो । सोही किटबाट यहाँ निःशुल्क परीक्षणसमेत गरिनेछ ।

उहाँले रत्ननगरका स्थानीयवासीको घर घरमा डेङ्गु सार्ने लामखुट्टेका लार्भा फेला परेको भन्दै स्थानीयवासीले यसलाई गम्भीर रुपमा लिनुपर्ने र सरसफाइ गरी भाँडामा पानी जम्न दिन नहुने बताउनुभयो ।

भदौ पहिलो सातादेखि असोज पहिलो सातासम्म चितवनमा २१ जनामा डेङ्गु भएको थियो । त्यसपछि असोजको ६ देखि २० गतेसम्म डेङ्गु अत्यधिक बढेर ११९ जनामा पुगेकामा आजसम्म बढेर १२५ पुगेको छ ।

जसमा १० जना पूर्वी चितवन खैरहनीका बिरामी छन् । यस्तै नवलपरासीका दुई र कपिलवस्तुका एकजनामा डेङ्गुको सङ्क्रमण पाइएकोे छ । ८५ जना सङ्क्रमित रत्ननगर नगरपालिकाका छन् भने बाँकीको ठेगाना खुलेको छैन । फ्लाभी नामको भाइरसले डेङ्गु सार्छ । यो आरएनए भाइरस समूहमा पर्छ ।

डेङ्गुको उपचार अहिलेसम्म पत्ता नलागेकाले लक्षण हेरेर उपचार गर्नुपर्ने भरतपुर अस्पतालका चिकित्सक डा भोजराज अधिकारीले बताउनुभयो । सामान्यतया बढी ज्वरो आउने टाउको दुख्ने, बिमिरा आउने, ज्यान दुख्ने यसका मुख्य लक्षण हुन् ।

रोग निको पार्न आराम गर्ने, झोलिलो पदार्थ पिउने, चिकित्सकको निगरानीमा औषधि लिनुपर्छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *