ऋण खोजेर एम्बुलेन्स मर्मत

ambulance2

पर्वत, १३ असोज –  यहाँको एक विकट गाउँका बासिन्दाले विगत चार वर्षदेखि बिग्रिएर थन्किएको एम्बुलेन्स ऋण खोजेर मर्मत गरेका छन् ।

उत्तरी पर्वतको माझफाँट गाविसमा रहेको मल्लाज स्वास्थ्य चौकीलाई भारतीय दूतावासको सहयोगमा विगत ६ वर्षअघि प्राप्त भएको एम्बुलेन्स चार वर्षदेखि बिग्रिएर थन्किएको थियो । आर्थिक अभावका कारण लामो समयसम्म मर्मत गर्न नसकेपछि स्वास्थ्य चौकी व्यवस्थापन समितिको पहलमा ऋण खोजेर मर्मत गरिएको हो ।

गाउँ विकास समितिको रु एक लाख, स्थानीय महिला चेतना केन्द्रबाट रु एक लाख, हिमसुसेली युवा क्लबबाट रु ९० हजार, साना किसान सहकारी संस्थाबाट रु १० हजार, मल्लाज बहुउद्देश्यीय सहकारी संस्थाबाट रु १० हजार र बाँकी रु एक लाख ५० हजार विभिन्न व्यक्ति तथा संस्थाबाट ऋण लिएर एम्बुलेन्स मर्मत गरिएको स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिए।

उनका अनुसार एम्बुलेन्स मर्मतका लागि स्वास्थ्य चौकीसँग पर्याप्त बजेट अभाव भएको र जिल्ला स्वास्थ्य कार्यालय पर्वतलगायत अन्य निकायसँग माग गर्दा पनि सहयोग पाउन नसकेपछि ऋण खोज्नुको विकल्प नभएको हो । कच्ची बाटोमा एम्बुलेन्स चलाउँदा धेरै बिग्रिने र त्यसको कमाईबाट मर्मतलगायत नियमित खर्च सञ्चालनमा समेत समस्या भएपछि मर्मतका लागि ऋण खोज्नु परेको अधिकारीले बताए ।

उक्त एम्बुलेन्स सेवा सञ्चालन भएसँगै उत्तरी पर्वतमा माझफाँट, बाँसखर्क, शालिजा, लेखफाँटसँगै छिमेकी जिल्ला म्याग्दीको नागीका बासिन्दा समेत प्रत्यक्ष रुपमा लाभान्वित हुने गरेका छन् । चौबिसै घन्टा गाउँमै रहने भएकाले ग्रामीण क्षेत्रमा बिरामीका लागि निकै सहज भएको अधिकारीले बताए।

पर्वत जिल्ला अस्पताल, नेपाल रेडक्रस सोसाइटी लगायतका संस्थामा आर्थिक अभावकै कारण लामो समयदेखि एम्बुलेन्स मर्मत हुन नसकी थन्किएर रहेका बेला ग्रामीण क्षेत्रमा सञ्चालित उक्त एम्बुलेन्स भने स्थानीयवासीको सक्रियतामा मर्मतपछि सञ्चालन भएको हो । उक्त एम्बुलेन्स पोखरामा मर्मत गरेर आएपछि आइतबारदेखि नै सेवा दिन थालेको बताइएको छ ।

आफैँले जुनसुकै बेला पनि प्रयोग गर्नुपर्ने भएकाले स्थानीय सङ्घसंस्था र व्यक्तिले सहज रुपमा आर्थिक सहयोग तथा सापटी रकम उपलब्ध गराएको स्वास्थ्य चौकीका प्रमुख गोरेबहादुर नेपालीले जानकारी दिए । उनका अनुसार दैनिक चार देखि १० जनासम्म बिरामीलाई म्याग्दी जिल्ला अस्पताल बेनी, पर्वत जिल्ला अस्पताल कुश्मा तथा जटिल खालका बिरामीलाई पोखरासम्म सेवा दिँदै आएको पनि उनले बताए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *