सुदूरपश्चिममा दुई महिनादेखि सिटामोल अभाव

sitamol

भीमदत्तनगर, ११ असोज – सुदूरपश्चिममा विगत दुई महिनादेखि सिटामोल अभाव छ । यहाँका नौवटै स्वास्थ्य संस्थामा सिटामोल लगायत निःशुल्क वितरण गर्नुपर्ने औषधि अभाव भएको हो ।

आपूर्ति ठेक्कामा ढिलाइ हुँदा औषधि अभाव भएकाले धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरले हरेक जिल्ला जनस्वास्थ्य कार्यालयलाई सिटामोल खरिद गर्न निर्देशन दिएको छ । रु तीन लाखसम्मको सिटामोल खरिद गर्न जिल्लालाई जानकारी गराइसकेको सुदूरपश्चिम क्षेत्रीय स्टोरका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए ।

“दुई महिनादेखि सिटामोल अभाव भए पनि चरम समस्या भने छैन ।” उनले भने – “आपूर्ति गर्ने कम्पनी कारबाहीमा परेकाले अभाव भएको हो ।”

“नेपाल औषधि लिमिडेटले सिटामोल उत्पादन सुरु गरिसकेको भनिएको छ ।” उनले भने – “दसैँअगावै वितरण हुने कुरो सुनिएको छ ।” जिल्लामा औषधि खरिदका लागि ठेक्का प्रक्रिया ढिलो गरी थालिएकाले पनि निःशुल्क रुपमा वितरण गरिने औषधि अभाव भएको हो । क्षेत्रीय स्टोर प्रमुख श्रेष्ठका अनुसार सुदूरपश्चिममा वार्षिक करिब दुई करोड चक्की सिटामोल खपत हुन्छ ।

स्वास्थ्य चौकीबाट ३८, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क दिने व्यवस्था छ । सुदूरपश्चिममा कञ्चनपुर र बैतडीमा सिटामोलको बढी अभाव रहेको उनले बताए । त्यसका साथै जिल्लामा सामान्य ज्वरो, पेटदुखाइ र वर्षात्मा हुने पानीजन्य रोगका औषधि अभाव छ ।

त्यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत हेमराज जोशीले सिटामोल केहीदिनअघि मात्रै स्थानीय बजारबाट खरिद गरी स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा पठाइएको जानकारी दिए ।

उनले भने – “बजारबाट रु तीन लाखको सिटामोल खरिद गरेका छौँ ।” उनले अन्य औषधि खरिदका लागि केहीदिन भित्रै टेन्डर हुने बताए । गत वर्ष पनि कञ्चनपुरका ठेक्का प्रक्रिय ढिलो हुँदा जिल्लामा औषधि अभाव भएको थियो । “सबै औषधि अभाव छ भन्ने होइन ।” जोशीले भने – “एकाध किसिमको औषधि अभाव भएको हो ।”

कञ्चनपुरमा वार्षिक रु ५५ लाखको औषधि खरिदका लागि टेन्डर हुन्छ । अबको डेढ महिनाभित्र यहाँ औषधि अभाव नहुने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *