अस्पतालमा अलपत्र परे भक्तबहादुर

 

धनकुटा, ७ असोज – आर्थिक अभावका कारण छोराले अस्पतालमा नै छोडेर भागेपछि भक्तबहादुर सार्कीको बिरामी निको भएपनि जाने ठाउँ नभएर अलपत्र परेका छन् ।

धनकुटा जिल्ला अस्पतालमा अचेत अवस्थामा उनकै छोरा गोविन्दले छोडेर भागेपछि अस्पतालले स्याहारसम्भार गरेर निको भएका जिल्लाकै खोकु–१ घर बताउने भक्तबहादुरको बिरामी त निको भयो तर अब कता जाने अलपत्र परेको बताउँछन् ।

जिल्ला अस्पतालको आकस्मिक कक्षमा बाबुलाई पु¥याएका गोविन्दलाई औषधि ल्याउन डाक्टरले भनेपछि बेपत्ता भएका एक हप्तासम्म नफर्केपछि भक्तबहादुर अलपत्र परेका छन् ।

बाबुछोराबाहेक घरमा कोही नभएपछि बाहिरबाहिर कमाएर खाने बाबुछोरा आर्थिक समस्या परेका कारण भागेका हुनसक्ने चिकित्सकको अनुमान रहेको छ । खोकु–१ मा आठ रोपनी जग्गा भए पनि घर नभएको जग्गा बाँझो भएका कारण घर छोडेको चार वर्ष भएको भक्तबहादुरले बताए ।

चार वर्षअघि श्रीमतीको मृत्यु भएपछि हिँडेका भक्तबहादुर १० वर्षभित्र आमाबाबुसहित दाजुभाइ, छोराछोरीसहित १५ जनाको काजक्रिया गरेर सम्पत्तिको नाममा आठ रोपनी जग्गा मात्र बाँकी रहेको बताउँछन्।

छातीमा समस्या देखिएका भक्तबहादुरको दमको बिमार भएको स्याहार र हेरचाहमा रहनुभएको स्टाफ नर्स एन्जल लिम्बूले बताए । उनले भने, “हामीले अस्पतालका तर्फबाट नै उपचार गरेका हौँ, निःशुल्क एवम् अस्पतालमा बाहेक बाहिरबाट औषधि ल्याएर बचायौँ तर डिस्चार्ज लिने मान्छे नभएर उनलाई अस्पतालमा राख्नुपरेको छ ।

“बिरामी बाबु छोडेर भागेका छोरालाई पटकपटक फोन गर्यौँ तर सम्पर्क नै हुँदैन, उनी त अलपत्र नै हो, हामीले के गर्ने निर्णय गर्न सकेका छैनौँ ।” ६७ वर्ष पुगेका भक्तबहादुर आफू दलित भएका कारण वृद्धभत्ता पाइने कुरा समेत थाहा नभएको र नागरिकतासमेत हराएको कारण राज्यले दिने सुविधासमेत नभएको बताउँछन् ।

“छोरा के गर्छ, कता जान्छ, केही थाहा छैन, बिरामी भएको खबर पाएर मलाई यहाँसम्म छोडेर कता गयो थाहा छैन, पैसा थिएन होला, लाज भयो, भाग्यो होला”, सार्कीले भने ।

बाँसको चोयाबाट डोको बुन्ने सीपका कारण जीविका चलाएको बताउने भक्तबहादुर उमेर ढल्कँदै गएका कारण अब कसरी छाक टार्ने समस्या भएको बताउनुहुन्छ । परिवारका नाममा एउटा छोरो त्यो पनि साथमा नहुँदा बुढेसकालमा के गर्ने ठूलो समस्या भएको उनी बताउछन्। उनी भन्छन्, “अझै दुईचार वर्ष त केही गर्न सकिएला, ओछ्यान नै परेपछि त खै के गर्ने, दिनरात निन्द्रा हराएको छ ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *