तयारी पूरा भए पनि आइसियु सेवा सञ्चालनमा आएन, बिरामीलाई समस्या

भक्तपुर, २ असोज –  एकसय वर्ष पूरानो जिल्लाको सरकारी अस्पतालका रूपमा रहेको भक्तपुर अस्पतालमा तयारी पूरा भए पनि आइसियु सेवा सञ्चालन नहुँदा बिरामीलाई समस्या पर्ने गरेको छ ।

सरकारको रु एक करोड ५० लाखको बजेटमा अस्पतालले पाँच श्ययाको आइसियु सेवा सञ्चालन गर्न आवश्यक तयारी सबै पूरा गरिसके पनि सेवा भने सञ्चालनमा नल्याउँदा आइसियु आवश्यक पर्ने बिरामी भने अन्य अस्पताल जान बाध्य भएका छन् ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नवराज गेलालले अस्पतालको तल्लो तलामा भेन्टिलेटरसहित पाँच श्ययाको आइसियु सेवा सञ्चालन गरेर श्यया जडान गरिसके पनि सेवा भने अझै सञ्चालन हुन नसकेको बताए ।

उनले भने – “आइसियु सेवा सञ्चालनको सबै तयारी पूरा भइसक्यो, मेसिन जडान गर्न मात्रै बाँकी छ, भदौ अन्तिम साताबाट सेवा सञ्चालन गर्ने तयारी गरे पनि अस्पताल प्रशासनले ढिलाइ गरिरहेको छ ।”

वीर अस्पतालपछि स्थापना भएको भक्तपुर अस्पतालमा अझै पनि आइसियु सेवा सञ्चालन नहुँदा बिरामी रिफर केन्द्रका रूपमा अस्पताल परिणत भएको गुनासो बढेको छ ।

अस्पतालले दैनिक विभिन्न शल्यक्रिया गर्ने गरे पनि आइसियु सेवा सञ्चालन नहुँदा जोखिम रहेको भन्दै कतिपय अस्पताल भर्ना हुन आएका बिरामी आइसियु नभएको भन्दै अन्य निजी अस्पतालमा जाने गरेको अस्पतालका कर्मचारीको गुनासो छ ।

अस्पतालबाट बिरामी अन्त पठाएर कमिसन लिन केही डाक्टर र कर्मचारी तल्लिन रहेकाले आइसियु सेवा सञ्चालनमा चासो नदिएको अस्पतालकै कर्मचारीले गुनासो गरेका छन् ।

अस्पतालका सुपरिटेन्डेन्ट डा. हरिबहादुर केसीले जनशक्ति नभएकाले तयारी पूरा भए पनि आइसियु सेवा सञ्चालनमा ल्याउन नसकेको बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *