चिकित्सक सङ्घको निर्वाचनमा दुई समूहको प्रतिस्पर्धा

 

NMA-logo

काठमाडौँ, ११ भदौ – नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि दुई समूहबीच प्रतिस्पर्धा हुने भएको छ ।

यही भदौ १७ र १८ तथा भदौ २१ देखि २५ गते हुने दुई चरणको निर्वाचनमा पेसागत समावेशी चिकित्सक समूह (पेसचिस) र प्रजातान्त्रिक चिकित्सक समूह (प्रचिस)बीच प्रतिस्पर्धा हुने भएको हो ।

तीन वर्ष कार्यकालका लागि १३ सदस्यीय कार्यसमितिका निम्ति दुवै समूह उम्मेदवारी घोषणा गरेर निर्वाचन प्रचारप्रसारमा लागेका छन् ।

पेसचिसका डा रमेश ढकाल र प्रचिसका डा मुक्तिराम श्रेष्ठ अध्यक्षमा उम्मेदवारी घोषणा गरी चुनावी मैदान उत्रिएका छन् । पेसचिसबाट वरिष्ठ उपाध्यक्षमा डा. सन्तोष पौडेल, उपाध्यक्षमा डा. सिवेन्द्र झा, महासचिवमा डा. अजयकुमार मिश्र, कोषाध्यक्षमा डा. रक्षा श्रेष्ठ, सहसचिवमा डा शैलेशमणि पोखरेल र सहकोषाध्यक्षमा समिर शर्मा उम्मेदवार रहेका छन् ।

यसैगरी प्रचिसबाट वरिष्ठ उपाध्यक्षमा डा. ढुण्डी पौडेल, उपाध्यक्षमा डा. मुकुन्द दाहाल, महासचिवमा डा. लोचन कार्की, कोषाध्यक्षमा डा. रश्मिप्रसाद यादव, सहसचिवमा डा. अभिमन्यु झा र सहकोषाध्यक्षमा डा. प्रकाश बुढाथोकी रहेका छन् ।

विसं २००७ मा स्थापित सङ्घमा पाँच हजार ३०५ चिकित्सक आबद्ध रहेको छ । काठमाडौँ उपत्यका बाहिर १५ स्थानमा भदौ १७ र १८ गते तथा उपत्यकाभित्र भदौ २१ देखि २५ गतेसम्म निर्वाचन हुने छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *