जिल्ला अस्पतालको स्तरोन्नतिसंगै उपकरण थपियो, जाजरकोटबासी हर्षित

jajarkot-district-hospital

जाजरकोट, २४ असार – यहाँको जिल्ला अस्पतालको स्तरोन्नतिसँगै नयाँ सेवासुविधा थपिने क्रम जारी रहेको छ । सेवा विस्तारसंगै सामान्य उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता यहाँका नागरिकलाई अब छुटेको छ ।

पन्ध्र श्ययाबाट ५० श्ययामा अस्पतालको स्तर वृद्धिसँगै नयाँ नयाँ मेसिन थपिने क्रम बढेको हो । जिल्ला अस्पतालमा नयाँ भिडियो एक्स–रे भित्रिएको छ । भिडियो एक्स–रे नहुँदा यहाँका स्थानीयवासी रुकुमको चौरजहारी तथा नेपालगन्ज जानुपर्ने बाध्यता रहेको थियो ।

ब्लड बैंकका लागि भने सबै सामग्री जिल्लामा पुगे पनि ठाउँको अभावमा समस्या पर्दै आएको जिल्ला स्वास्थ्य प्रमुख राजेन्द्र जिसीले जानकारी दिए ।

अस्पताललाई ५० श्ययामा रुपान्तरण गर्ने कार्यक्रममा गृहमन्त्री शक्तिबहादुर बस्नेतले जिल्ला अस्पतालमा कुनै पनि प्रकारको समस्या पर्न नदिने प्रतिबद्धता जनाएलगत्तै अस्पतालमा नयाँ नयाँ सामग्री भित्रिएका छन् । दाँत निकाल्नका लागि मेसिनको अभावमा यहाँका नागरिकलाई समस्या पर्दै आएकामा अब दाँतसम्बन्धी सबै सेवासुविधा जिल्ला अस्पतालमा उपलब्ध भएको प्रमुख जिसीले बताए ।

अस्पतालमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन उच्च क्षमताको जेनेरेटरको व्यवस्था गरिएको छ । सामान्य रोगको उपचारका लागि जिल्लाबाहिर दौडिनुपर्ने बाध्यता हटेको अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाहले बताए ।

अब जिल्ला अस्पतालमा भवनको समस्या रहेको छ । भवन नहुँदा दैनिक सुत्केरी सेवा दिन निकै समस्या हुँदै आएको छ । जिल्लाका जुनसुकै ठाउँमा समस्या परे पनि त्यसलाई निराकरण गर्न आकस्मिक सेवाका लागि औषधि तयारी अवस्थामा राखिएको छ । वर्षौंदेखि अहेवको भरमा सञ्चालन भएका दल्ली, लिम्सा र गर्खाकोटका स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरहरु पुगेर दैनिक सेवा दिइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *