कमजोरआर्थिक अभावका कारण उपचार हुन सकेन

जाजरकोट, ७ असार – एक वर्ष पहिलेदेखि बिरामी परेका विकट गाविस नायकवाडा–८ ताँसीका गोरखबहादुर सार्कीको उपचार हुन सकिरहेको छैन ।

आर्थिक अभावमा दायाँ खुट्टा पाकेर घाउ परेका सार्कीको उपचार हुन नसकेको हो । गतबर्ष साउन १ गतेदेखि बिरामी परेका गोरखबहादुर सार्कीले उपचार गर्न नसकेर ओछ्यानमै पल्टिरहेका छन् । सार्कीलाई दैनिक उनकी श्रीमती विसुनी विकले बोेकेर दिसापिसाब गराइरहेकी छिन् ।

थोरै हलचलसम्म गर्न नसक्ने अवस्थामा पुगेका सार्की दायाँ खुट्टा सुरुमा पोल्ने, झम्झमाउने, चिर्किने जस्ता लक्षणहरु देखा परेको विस्तरामै पल्टिएका सार्कीले बताए । सहन नसक्ने गरी चिर्किने खुट्टामा घाउ परेर हाल एउटा औँला झरिसकेको सार्कीको भनाइ छ ।

आफूलाई कुन रोग लागेको भन्नेसम्म थाहा नभएका सार्कीले घरमा आफूसँग कुनै आर्थिक स्रोत नभएका कारण कुनै उपचार गर्न नसकेको बताए । कमाउनलाई यार्सागुम्बा खोज्न डोल्पाको प्यारीगुफा भन्ने हिमालमा पुगेका सार्कीको खुट्टा पोल्न थालेपछि साथीले बोकेर घरमा पु¥याएको सार्कीको भनाइ छ ।

कमजोर आर्थिक अवस्था भएका सार्कीले निरास हुँदै भने “आर्थिक अभावकै कारण म मृत्युको मुख नजिक पुगिसकेछु तर के गरौँ, मर्छु भन्ने आफूलाई थाहा भएपनि मृत्युलाई जित्नु बाहेक अरु विकल्प मसँग छैन ।” घरमा आर्थिक स्रोत भएको भए नेपालगन्ज, काठमाडौँलगायतका ठाउँमा गएर आफूलाई लागेको रोग जचाउने थिएँ, तर के गर्नु नेपालगन्जसम्म जाने गाडी भाडा नभएर विस्तरामै कुहिरहेको छु, भन्दै पत्रकारसँगको छलफलमा सार्की भक्कानिए ।

३० वर्षीय गोरखबहादुर सार्कीकी श्रीमती विसुनी विक २५ वर्ष उमेरकी छन् । उनीहरुका ८ वर्षीय छोरा राजेश नेपाली कक्षा २ मा स्थानीय विद्यालयमा पढिरहेका छन् भने छोरी डिलमाया नेपाली ३ वर्षको उमेरमा प्रवेश गरेकी छन् । सार्कीको गाउँमा रहेको दुईरोपनी पाखो जमिन छ ।

दुई रोपनी जमिनबाट उत्पादन भएको अन्नले घरमा खान नपुगेर अर्काको घरमा मजदुरी गरेर सार्कीले परिवारको लालनपालन गरिरहेका थिए । एउटा पनि पशुचौपाया नभएका सार्कीको खरले छाएको एउटा कच्ची घर मात्र छ ।  – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *