योग नेपाली भूभागकै उत्पत्ति : प्रधानमन्त्री ओली

k p yog

काठमाडौँ, ७ असार  – प्रधानमन्त्री केपी शर्मा ओलीले योग नेपाली भूभागकै उत्पत्ति भएको बताएका छन् ।नेपाल सरकारले आज बिहान दरबारमार्गमा आयोजना गरेको अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली पुर्खा र विद्वान्ले योग सुरु गरेको उल्लेख गर्दै यो कुनै देशको सम्पत्ति नभई सबै मानवका लागि हो भने।

शिव सभ्यता, जनक सभ्यता र बुद्ध सभ्यताको त्रिवेणी नेपालमा ‘सामन्जस्य एवम् शान्तिका लागि योग’ भन्ने आदर्श वाक्यका साथ पहिलो पटक भव्यतापूर्वक अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो । संयुक्त राष्ट्र सङ्घले ११ डिसेम्बर २०१४ मा हरेक २१ जुनलाई दिवस मनाउने प्रस्ताव पारित गरेको थियो ।

उनले स्वस्थ शरीर र स्वस्थ विचारका लागि योगको अपरिहार्यता रहेको जनाउँदै संयुक्त राष्ट्र सङ्घबाट योग दिवसलाई मान्यता दिलाउन पहल गर्ने सबैप्रति आभार व्यक्त गरे ।

शिक्षामन्त्री तथा समितिका संयोजक गिरिराजमणि पोखरेलले योग नेपालको विशिष्टतम् चेतना भएको जनाउँदै यसलाई विद्यालयस्तरमा फैलाउनुपर्ने बताए ।

नियमित योग गर्न स्वास्थ्यमन्त्रीको आग्रह

स्वास्थ्यमन्त्री रामजनम चौधरीले केवल दिवसमा मात्र नभई नियमित योग गर्न पनि आग्रह गरे ।

नेपालका लागि भारतीय दूतावास रणजित रायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिवसका अवसरमा दिएबकोसन्देश वाचन गरे ।

कीर्तिमानी योगसाधक पुरस्कृत

कार्यक्रममा प्रधानमन्त्री ओलीले ‘योग म्याराथन’ मा विश्व कीर्तिमान कायम गर्ने उत्तम मोक्तानलाई रु ५१ हजार राशिसहित पुरस्कृत गरे ।

मोक्तानले २०७२ पुस २ देखि ४ गतेसम्म लगातार ५० घन्टा १५ मिनेट योग गरी ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा आफ्नो कीर्तिमान कायम गरेका थिए । उनले भारतका योगराज सिपीले कायम गरेको ४० घण्टा १५ मिनटको रेकर्ड तोडेका थिए ।

तीन पुस्तक विमोचित

प्रधानमन्त्री ओलीले योगसम्बन्धी विभिन्न तिन पुस्तकको लोकार्पण पनि गरे। ती पुस्तकमा डा राजु अधिकारीद्वारा लिखित ‘तपाइँका लागि योग’, पतञ्जलि योगपीठ नेपालद्वारा प्रकाशित ‘विचार क्रान्ति’ र नेपालस्थित भारतीय दूतावासद्वारा प्रकाशित ‘योग सन्देश’ योगा फर पिस एण्ड हार्मोनी छन् ।

विशिष्ट व्यक्ति योगाभ्यासमा

कार्यक्रममा प्रधानमन्त्री ओली, उनका धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री, मन्त्रीगण, सांसद र उच्चपदस्थ व्यक्तिहरु र योग साधकबाट एक घन्टा योग अभ्यास गरिएको थियो । प्रधानमन्त्री ओलीले भने स्वास्थ्यका कारण केही अभ्यास गरी आराम गरेका थिए ।

पतञ्जलि योग समिति नेपालका प्रमुख लवदेव मिश्र प्रभारी र पतञ्जलि योगपीठ नेपालका ट्रष्टी शालिग्राम सिंहले योग प्रदर्शन तथा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रका उपाध्यक्ष रामसिंह ऐरले ध्यान गराएका थिए। सहभागीलाई शरीर र सोचलाई सदैव सन्तुलित राख्ने सङ्कल्प गराइएको थियो ।

दिवसका अवसरमा आज देशव्यापीरुपमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । – रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *