२४ महिना लाग्ने ‘एमडीआर टीबी’को उपचार अब नौ महिनामै !

mdr tb

पेरिस (फ्रान्स) २ जेठ – मल्टी ड्रग रेसिस्टेन्स(एमडीआर) टीबीको उपचार अब नौ महिनामै सम्भव हुने भएको छ । अहिलेसम्म यो रोग लागेका बिरामीले कम्तीमा २४ महिना अर्थात दुई बर्ष अटुट रुपमा औषधिको सेवन गर्नुपथ्र्यो ।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को गत बिहिबार जेनेभामा बसेको बैठकले एमडीआर टीवीको उपचार २४ महिनाको सट्टा नौ महिनामै गर्न सकिने सुझाव दिएको छ । डव्लुएचओको सुझाव पछि उपचार पद्धतीमा परिवर्तन आउने निश्चत भएको छ ।

तर डव्लुएचओको यो सुझाव यत्तिकै आएको भने होइन । टीवी तथा फोक्सोको क्यान्सरको क्षेत्रमा काम गर्दै आएको अन्तराष्ट्रिय गैरसरकारी संस्था द युनियन, डामेन फाउन्डेसन, मेडिसिन्स सन्स फ्रोन्टिइयर्स (एमएसएफ) र द अन्टवर्प इन्टिच्युट अफ ट्रपिकल मेडिसिन इन बेल्जिएमले गरेको अनुसन्धान नतिजालाई आधार मानेर डव्लुएचओलेसुझाव दिएको हो ।

यी संस्थाहरुले विभिन्न १० देशका १ हजार २ सय जना एमडीआर टीवीका विरामीहरुको अनुसन्धान गरेका थिए । सोही अनुसन्धानबाट आएको नतिजाको आधारमा डव्लुएचओले उपचार पद्धती छोट्याउन सुझाव दिएको हो ।

हुन पनि सो अध्ययनले नौ महिने उपचार प्रणालीको सफलता दर ८४.५ प्रतिशत रहेको देखिएको छ । जवकी २४ महिने उपचार प्रणालीको सफलता दर जम्मा ५० प्रतिशत मात्रै छ ।छोटो समयको उपचार झनै प्रभावकारी देखिएपछि डव्लुएचओले एमडीआर उपचारका लागि नयाँ गाइडलाइन तयार गर्न लागेको छ ।

द युनियनका कार्यकारी निर्देशक जोस लुइस क्यास्ट्रोले नौ महिना उपचार पद्धती सुरु गर्न डव्लुएचओले प्रस्ताव गर्नु क्षयरोगको क्षेत्रमा ऐतिहासिक उपलव्धी भएको टिप्पणी गरेका छन् ।

द युनियनकै अनुसन्धान निर्देशक डा. पाउला फुजिवाराले यो पद्धती प्रस्तावित भएसंगै विरामी र चिकित्सकलाई समेत उपचारमा सहजता थपिने बताए । उनले भने, ‘२४ महिने उपचार पद्धति अलि लामो भयो, विरामीले पुरा नगर्न पनि सक्छ तर नौ महिने उपचार प्रणाली त्यति लामो होइन जसमा विरामी, चिकित्सकहरु सबैलाई सहज समेत हुन्छ । त्यसैले यो नयाँ प्रणाली लागू गर्नुपर्छ भन्ने हाम्रो भनाई थियो ।’

त्यसो त सो अध्ययन पश्चात अहिले नौ महिने उपचार पद्धतीको नमूना समेत सुरु भएको छ । द युनियन र युएसएआइडीले संयुक्त रुपमा गरेको यो नमूना अहिले इथियोपिया, साउथ अफ्रिका, भियतनाम र मंगोलियामा सुरु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *