खुल्ला सिमानाका कारण बाँकेमा क्षयरोग नियन्त्रणमा समस्या

TB center

बाँके – कम हुँदै जानुपर्ने क्षयरोगीको संख्या पछिल्ला दिनमा जिल्लामा झन् झन् बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले खुल्ला सिमानाका कारण बाहिरबाट आउने क्षयरोगीले नियन्त्रणमा समस्या पारेको दावी गरेको छ ।

जनस्वास्थ्य कार्यालयको तथ्याङ्कले बाँके जिल्लामा प्रत्येक वर्ष पाँचदेखि सात प्रतिशत क्षयरोगीको सङ्ख्या बढ्दै गएको देखाएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन प्रेम केसीका अनुसार जिल्लामा हाल ९०४ जना क्षयरोगीका बिरामीको उपचार भइरहेको छ । तीमध्ये महिला ३६० र पुरुष ५४४ रहेको छन् ।

तथ्याङ्कअनुसार, जिल्लाका बिभिन्न स्वास्थ्य संस्था र अस्पताल गरी ५९ स्वास्थ्य केन्द्रमा क्षयरोगीका बिरामीको उपचार हुने गरेको छ ।

क्षयरोगका बिरामीलाई आठ महिनासम्म नियमित तालिम प्राप्त स्वास्थ्यकर्मीको निगरानीमा औषधि खुवाउने व्यवस्था मिलाइएको छ भने गम्भीर प्रकृतिका बिरामीलाई स्वास्थ्य संस्थामा राखेर औषधि उपचार सेवा दिने गरिएको छ ।

यी व्यवस्थाका बाबजुद पनि अज्ञानता र रोगलाई गम्भीररुपमा नलिने प्रवृतिका कारण १३ प्रतिशत बिरामीले बीचमै औषधि खान छाड्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।

गत वर्ष जिल्लामा १४ जना क्षयरोगका बिरामीले ज्यान गुमाएका थिए । पछिल्ला बर्षहरुमा औसत तीन प्रतिशत रोगीको मृत्यु हुने गरेको छ ।

जिल्लामा अझैँ पनि १० प्रतिशत बिरामी उपचार सेवाको पहुँचसम्म पुग्न सकेका छैनन् भने उपचारमा ८७ प्रतिशत सफलता प्राप्त हुने तथ्याङ्कले देखाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *