विरामीको मृत्यु पछि एभरेष्ट अस्पताल फेरी बन्द, प्रतिवेदन नआउदासम्म अस्पताल नखोल्ने सहमति

नेपाली हेल्थ / काठमाडौँ –

everest hospitalदाँया तिघ्रामा गुजुल्टेको नसा (भेरीगोजभेन)को उपचार गर्न आएका काठमाडौ तिनकुनेका चालिस बर्षीय सुजन श्रेष्ठको हिजो (बिहीबार) अपरान्ह चार बजे नयाँ बानेश्वरस्थित एभरेष्ट हस्पिटलमा मृत्यु भयो । श्रेष्ठको मृत्यु पछि अहिले अस्पताल बन्द भएको छ । भर्ना भएका सबै विरामीलाई अन्यत्रका अस्पतालमा सारिएको छ । अस्पताल प्रशासनले मृतकका आफन्तसंग प्रतिवेदन नआउदासम्म अस्पताल नखोल्ने लिखित सम्झौता नै गरेको छ ।

घटनाले गम्भीर मोड लिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुगमन महाशाखाका प्रमुख सहसचिव डा. गरिबदास ठाकुरको नेतृत्वमा ७ सदस्यीय छानबीन टोली गठन गरेको छ । सो टोलीलाई सात दिन भित्र प्रतिवेदन पेश गर्न भनिएको छ ।

मृतकका परिबार तथा आफन्तहरुले मृत्युको पछाडी डाक्टरको लापरबाही भएको आरोप लगाएका छन् । अघिल्लो दिन तिघ्रामा गुजुल्टेको नसाको उपचार गर्न आएका श्रेष्ठको अर्थोपेडिक सर्जन डा. बच्चुराम केसीले हेरेका थिए । परिबारका अनुसार डा केसीले माइनर अप्रेसन( सानो) गरेपछि निको हुने र बेलुका नै घर फर्किन सक्ने बताएका थिए । तर बेलुकासम्म घटनाले अर्कै मोड लिइसकेको थियो ।श्रेष्ठको ज्यान गईसकेको थियो ।

अस्पताल श्रोतका अनुसार करीव ११ बजे अप्रेसन सकेर पोष्टअप वार्डमा राखिएका श्रेष्ठको दुई बजेपछि ‘ग्यास्टीङ प्रोव्लम'( स्वासप्रस्वासमा कठिनाई अर्थात हिक्क हिक्क) भएको थियो । तत्काल उपलव्ध चिकित्सकहरुले उनलाई भेन्टिलेटरमा लैजान खोजे तर सफल भएनन । सिपिआर ( छातीमा थिचेर स्वासप्रस्वास फिर्ता गर्ने अन्तिम विकल्प) पनि गरे , धापासीस्थित ग्राण्डी इन्टरनेशनल हस्पिटलबाट समेत चिकित्सक टबोलाए तर कुनै प्रयास सफल भएन । करीव चार बजे तिर मृत्यु भएको घोषणा सुनाए ।

अप्रेसन सफल भएर पोष्टअपमा स्वास्थ्य लाभ लिदै रहेको आफ्नो मान्छे दुई घण्टा पछि मृत्यु भयो भन्ने सुनेपछि मर्माहत नहुने कुरै भएन । नजिकै तिनकुनेबाट टोलै उत्रियो, साथीभाई आफन्त नातागोता सबै आईहाले । कसैले अस्पतालको लापरबाही कसैले डाक्टरको लापरबाही भन्न थालिहाले । भिडबाट अस्पताल तोडफोड गरिदिउ भन्ने सम्मको आवाज आउन थाल्यो तर जिम्मेबार मृतकका आफन्तहरुले नै सो कार्य गर्न रोके ,

 तर उनीहरुले छानबीनको प्रतिवेदन नआउदासम्म अस्पताल बन्द राख्न दवाव दिए । सोही अनुसार  अस्पताल प्रशासनले मृतकका आफन्तसंग सेवा बन्द गर्ने कुरामा सहमति जनायो । भर्ना भएका करीव १० जना विरामीलाई तत्कालै अन्यत्र रिफर गरियो । आइसियुका दुईजनालाई भने सार्न नमिल्ने भन्दै अस्पतालमै राखिएको छ ।

के हुन सक्छ घटना ?

छानबीन संयोजक डा ठाकुरले अहिल्यै भन्न नसकिने बताए । आज मृतकका आफन्तसंग वयान लिने काम भयो । र मृतकको सब को पोष्टमार्टम प्रकृयालाई अघि बढाउने काम भयो । भोली ( शनिबार ) विहान १० बजे त्रिवि शिक्षण अस्पतालमा सबको पोष्टमार्टम हुन्छ । त्यसले दिने रिपोर्ट पछि अनुसन्धानले गति लिनेछ ।

अनुमान यस्तो पनि छ  ?

घटनालाई नजिकबाट हेरेका एक जना चिकित्सकले भने नाम उल्लेख नगर्ने सर्तमा दुई वटा कारण हुन सक्ने बताए । पहिलो अनुमान अप्रेसनका क्रममा गुजुल्टिएको नसामा जमेको क्लड रक्तबाहिनी नलिबाट माथि चडदै गयो र फोक्सोमा रगत सप्लाई गर्ने नलि पल्मोनरी इम्बोलिजममा गएर बस्यो । जसले गर्दा फोक्सोको प्रक्रिया अवरुद्ध भयो र हिक्क हिक्क भयो ।

दोस्रो अनुमान अप्रेसन गर्नु अघि दिइएको लठ्याउने औषधिको साइडइफेक्ट पनि हुनसक्छ । ‘उनलाई पुरा विहोस गरिएको थिएन । कम्मर मुनिको भाग मात्रै लठ्याइएको थियो । सो क्रममा केही गडबड हुनसक्छ’ उनले भने ।

को – को छन छानवीन समितिमा ?

डा. ठाकुरको संयोजकत्वमा गठित समितिमा मृतक पक्षका २ जना, ट्रमा सेन्टरका निर्देशक डा बुलन्द थापा, निजी अस्पतालहरुको संस्था अफिनका महासचिव गोपी न्यौपाने, मन्त्रालयका उपसचिव हरिदास शर्मा छन् । त्यस्तै त्रिवि शिक्षणअस्पताल फरेन्सिक डिपार्टका प्रतिनिधि, नेपाल चिकित्सक संघका प्रतिनिधि पनि सदस्य रहेको संयोजक ठाकुरले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *