पाठेघरको मुखको क्यान्सरबिरुद्धको खोप १५ हजार बालिकालाई दिइदै

नेपाली हेल्थ /काठमाडौँ –hpv-vaccine

सरकारले भविस्यमा लाग्न सक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउन १० बर्ष उमेरका बालिकाहरुलाई एचपीभी खोप दिने भएको छ । नेपालमा पहिलो पटक दिन लागिएकोे यो खोपको मूल्य एक डोजको करीव १० हजार रुपैया पर्ने बताइएको छ । बालिकाहरुलाई भने ६ ६ महिनाको अन्तरमा गरी दुई डोज दिनुपर्ने हुन्छ ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाका अनुसार एचपीभी खोपको सुरुवात कास्की र चितवन जिल्लाबाट हुनेछ । आगामी पुस महिनामा पहिलो डोजको खोप दिने तयारी गरेको महाशाखाले ती दुई जिल्लामा १० बर्ष उमेर समूहका करीव १५ हजार बालिकाहरु खोपको पहुचमा ल्याउने लक्ष्य लिएको छ । यी उमेर समूहका बालबालिकाहरु विद्यालय तहको कक्षा ६ मा अध्ययनरत हुने भएकोले खोप विद्यालयमै लगेर लगाईदिने तयारी भएको महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले बालिकाहरुलाई दिन लागिएको एचपिभी खोपले भविस्यमा हुनसक्ने पाठेघरको मुखको क्यान्सरबाट जोगाउने बताए । उनले खोपको सुरुवात दुई जिल्लाबाट हुन लागेको भन्दै आगामी बर्ष थप जिल्लामा कार्यक्रम विस्तार गर्दै क्रमस देशव्यापी बनाउने बताए ।

महाशाखाका अन्तर्गतको खोप शाखा प्रमुख मुकुन्द गौतमले कक्षा ६ का किशोरीहरुलाई विद्यालयमै गएर खोप दिने तयारी भएको बताए । उनले विद्यालय नपुगेका १० बर्षका बालिकाले भने स्थानीय सरकारी स्वास्थ्य संस्थामा पुगेर खोप लगाउन सक्ने बताए ।

नेपाली महिलाहरुको ज्यान लिने क्यान्सर रोगहरुमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो मानिन्छ । हरेक बर्ष करीव ६ हजार महिलाहरुले पाठेघरको मुखको क्यान्सरबाट ज्यान गुमाउने गरेको अनुमान छ । अत्यन्त महंगो खोपको सूचीमा पर्ने यो खोप नेपालका लागि द ग्लोवल एलाइन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) ले निशुल्क उपलव्ध गराएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *