नेपालमा एचआईभी : चौध बर्षमा ८० प्रतिशतले कमी

12279129_496827367164057_7735190422737282818_n

नेपाली हेल्थ /काठमाडौँ- 

पछिल्लो चौध बर्षमा नेपालमा एचआईभीको संक्रमण दर ८० प्रतिशतले घटेको छ । सन २००० मा एचआईभीको नयाँ संक्रमण बार्षिक ७ हजार ३२५ जनामा भएको अनुमान गरिएको थियो । सन २०१४ मा आईपुग्दा सो संख्या बार्षिक १ हजार ४ सय ९३ मा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका पछिल्ला बर्षमा नेपालमा दैनिक करीव ४ जना नयाँ व्यक्तिमा एचआईभी संक्रमण हुनेगरेको छ । चौध बर्ष अघि दैनिक २० जना नेपाली एचआईभीको संक्रमणमा पर्ने गर्थे ।

सन् २०१४ को प्रतिवेदन अनुसार १७८ जना बच्चामा एचआईभीको नयाँ संक्रमण भएको थियो । यो संख्या सन २०१० को तुलनामा ६२ प्रतिशतले कमी हो । सन २०१०मा ४६८ जना बच्चामा नयाँ संक्रमण थियो ।

केन्द्रले सन २००७ को तुलनामा एड्स सम्वन्धी रोगबाट मृत्यु हुने संख्यामा पनि २२ प्रतिशतले कमी भएको जनाएको छ । सन २०१४मा एडस रोगबाट मृत्यु हुने नेपालीको संख्या २ हजार ५६७ रहेको छ । सन् २००७ मा ३ हजार ३०७ जना व्यक्ति एड्सबाट ज्यान गुमाएका थिए ।

केन्द्रका निर्देशक डा. दीपेन्द्ररमण सिंहले एचआईभी एड्स बारेको चेतनामा अभिवृद्धि, समयमै रोगको पहिचान र उपचारका कारणले संक्रमणदर तथा मृत्युदरमा कमी भएको बताए । उनले गत असार मसान्तसम्म १४ हजार ७४५ जना संक्रमितले एन्टीरेटोभाइरल (एआरभी) उपचारको पहुच पाएको बताए । जसमध्ये अहिले पनि ११ हजार ८९ जनाले अहिले पनि एआरभी सेवा लिइरहेका छन् ।

केन्द्रका सूचना अधिकृत बीर बहादुर रावलले सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु , यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी र रोजगारीकालागि विदेशीनेहरु अहिले पनि जोखिममा रहेको बताए । उनले सुईद्धारा लागूपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा संक्रमणदर अरु जोखिम समूह भन्दा उच्च रहेको बताए ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०१४ सम्म संसारभर ३ करोड ६९ लाख व्यक्तिहरुमा एचआईभी स.क्रमण भएको अनुमान छ । नेपालमा भने सो संख्या ३९ हजार २४९ जना रहेको अनुमान छ ।

यसैबीच विश्व एड्स दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीले अबको लक्ष्य एचआईभी पहिचान, उपचार र रोकथाममा हुने बताए । उनले सहश्राव्दी लक्ष्य अनुरुप सन २०३० सम्म विश्वसंगै नेपालबाट समेत एचआईभी संक्रमणदरलाई पूर्णरुपमा नियन्त्रणमा लिने योजना अनुरुप काम गर्न सम्वन्धीत सरोकारवाला निकायलाई निर्देशन दिए ।‘ हामीफुटेर होइन जुटेर काम गर्नुपर्छ । असम्भव केही छैन,’ मन्त्री चौधरीले भने ।

स्वास्थ्य सचिव शान्तबहादुर श्रेष्ठले एचआईभी क्षेत्रमा नेपालले गरेको प्रगती सन्तोषजनक रहेकोभन्दै यसलाई दिगो राख्न सतर्कता जरुरी रहेको बताए । उनले नेपालको प्रगती दक्षिण एसिया र दक्षिण पूर्वी एसियामै उत्कृष्ट रहेको समेत दावी गरे ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सेनेन्द्रराज उप्रेतीले एचआईभीको प्रगति बढेसंगै चुनौती पनि थपिएको बताए । उनले करीव ४० हजार बढी संक्रमण गरिरहदा उपचारमा आउनेको संख्या ११ हजारको हाराहारीमै सिमित हुनु चुनौती रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *